पोखरा/मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने स्थान पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोला हो । गतवर्ष असार २२ गते राति उक्त खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड हेरिरहेका निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका दुई जना कर्मचारीसहित हाइलक्स गाडी नै बगाएको थियो ।
कुश्मा नगरपालिका–३ दुर्लुङदेखिको बाढी एकोहोरिएर आउने सुन्दरे खोला हरेक वर्षको बर्खायाममा मडारिन्छ । बाढीसँगै आउने विशाल ढुङ्गा, गेगर र माटोले हरेक वर्ष बाटो अवरुद्ध गराउँदै आएको छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त खोला आसपासको सडक हरेक वर्ष क्षत विक्षत हुने गरेको छ ।
वर्षा सुरु भएसँगै यसवर्ष पनि सुन्दरे खोलामा आउने बाढीले सवारी साधनहरूलाई दुःख दिन सुरु भएको छ । रातभरको वर्षाको कारण खोलामा आएको बाढीले सवारी आवतजावतमा समस्या भएको भए पनि प्रहरीले एक्स्काभेटर प्रयोग गरेर सकेसम्मको सहज अवस्था बनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए ।
‘सुन्दरे खोलामा हरेक वर्ष समस्या हुने गरेको छ । दोबिल्ला आसपासको सडक नै बगाएर लैजाने गरेको छ । यस वर्ष बल्ल राम्रोसँग वर्षा हुन थालेको छ । सुन्दरे खोलासहित तमादी खोला, रिट्ठे खोला, भ्याप्ले खोला, सहस्रधारा लगायतका स्थानमा बाढी र माथिबाट आउने पहिरोले सडक अवरुद्ध हुने गरेको छ’, उनले भने, ‘सडकलाई सकेसम्म पूर्ण अवस्थामा र त्यो नसेक एकतर्फी रूपमा भए पनि सञ्चालनमा राख्न ट्राफिक प्रहरी, मध्यपहाडी लोकमार्ग आयोजना र स्थानीय तह एक्स्काभेटर सहित तयारी अवस्थामा रहेका छौँ ।’
वर्षाका कारण कुश्मा नगरपालिका–७ खरेहा र कुश्मा नगरपालिका–८ चुवा जोड्ने तमादी खोलामा पनि मङ्गलवार बिहानैदेखि सडकमा लेखो जम्मा हुँदा साना सवारीहरूलाई पोखरा आउजाउ गर्न समस्या भएको छ । खोलामा आएको बाढीले ल्याएको लेदो र गेगर कालोपत्रे सडकको टाढा टाढा सम्म पुगेर जमेर बस्दा दुई पाङ्ग्रे तथा साना सवारीहरू सञ्चालनमा समस्या भएको हो । ‘लेदोमा फसेर मोटरसाइकल र स्कुटरहरू पल्टिरहेका देखिएका थिए । साना सवारीहरू सडकमै फस्दा अरू यात्री र ट्राफिक प्रहरीले धकेलेर पार गराएको देखिन्थ्यो,’ सोही बाटो हुँदै आएको स्थानीय समुन्द्र पौडेलले भने, ‘यो बेलामा दोबिल्ला काटेर ग्रामीण क्षेत्रतिरको बाटोमा जान पनि उस्तै समस्या हुने गरेको छ । सुन्दरे खेलामा आएको बाढी मोटर बाटो हुँदै दोबिल्लाको मोदी खोलाको पुलसम्म आउँदा सवारी चलाउनै समस्या छ ।’
जिल्लाको दक्षिणी क्षेत्रलाई जोड्ने एक मात्र पक्की सडक भत्किँदा दक्षिण पर्वतको यात्रा कष्टकर हुने गरेको छ । कुश्मा नगरपालिका–९ चुवाअन्तर्गत दोविल्ला खण्डको सडक भत्केको वर्षौं बित्दा पनि सडक खण्डको मर्मत हुन सकेको छैन । साना सवारी साधनहरू पाँच सय मिटरको सडक कालोपत्रे नहुँदा दक्षिणतर्फको यात्रा गर्न समस्यामा पर्ने गरेका छन् । मध्यपहाडी लोकमार्गको दोविल्ला चोक देखि मोदी खोला पुलसम्मको झन्डै पाँच सय मिटर सडक खण्ड विगत तीन वर्षदेखि जीर्ण अवस्थामा छ । तीन वर्षअघि दोविल्ला स्थित सुन्दरे खोलामा आएको बाढीका कारण उक्त सडक खण्ड भत्केको थियो । मध्यपहाडी लोकमार्ग देखि दोविल्ला स्थित सन्तोष चोकबाट मोदी खोलासम्मको सडकको नालीको सबै भाग भत्केको छ भने कालोपत्रे सबै उप्किएको छ ।





