मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बल्यो हाइमास्ट-स्मार्ट लाइट, सुरु भयो ‘उज्यालो पोखरा’

बल्यो हाइमास्ट-स्मार्ट लाइट, सुरु भयो ‘उज्यालो पोखरा’


  • विजय नेपाली
  • भाद्र १७ २०८०, आइतबार

पोखरा / नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा उज्यालो पोखरा अभियानको पहिलो चरण सम्पन्न भएको छ । पोखराका सडकलाई उज्यालो बनाउने योजनाअनुसार सुरु भएको उज्यालो पोखरा अन्तरगत सडकका चोकमा हाइमास्ट लाईट र स्मार्ट लाइट जडानको कार्य सम्पन्न भई आइतबार एक कार्यक्रमका बीच महानगरलाई हस्तान्तरण गरिएको छ ।

२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । गत भदौमा शिलान्यास गरिएको उक्त निर्माण कार्य एकबर्षपछि सम्पन्न भएको हो ।

राष्ट्रिय सडक बत्ति आयोजना प्रमुख प्रमोद रिजालले सडक बत्तीमा सेन्सरसहितको सिस्टम जडान भएको बताए । उनले विहान आफै निभ्ने र बेलुका आफै बत्ती बल्ने सुनाए । उनका अनुसार पोखरामा हाईमाट लाइट २३ वटा र स्मार्ट सडक बत्ती दुई हजार सात वटा रहेको छ । उक्त बत्ती पोखराको ६० किलोमिटरमा जडान गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको बराबरी लागत साझेदारीमा उज्यालो पोखरा अभियान सुरु गरिएको थियो । १४ करोड ६५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको बत्तीको न्युरोड डिभाइडर लागत एक करोड रुपैयाँ, मास्ट लाइट प्रोटेक्सन ३५ लाख रुपैयाँ लागेको रिजालले बताए । टपसन इनर्जी प्रा.लि.काठमाडौंले उक्त टेन्डर प्राप्त गरेको थियो । सडकबत्ती तथा फ्लड लाइटको उत्पादन सिग्नीफाई इण्डिया प्रा.लिले गरेको हो ।

टपसन इनर्जीका कार्यकारी प्रमुख किरण गौतमले कम्पनीले पाँच वर्षसम्म प्राविधिक रुपमा विग्रिएमा मर्मत गर्ने बताए । उनले आवश्यक लाइट नेपालमा नबन्ने स्थिति भएपछि भारतबाटै निर्माण गरेर ल्याएको बताए । त्यो बिचमा आफुहरुले सम्झौता गरेभन्दा फरक तरिकाले नयाँ योजना आएकाले पनि काम सक्न ढिला भएको सुनाए । उनले डिपिआर अनुसार नभई विपिचोक देखी सभागृहचोकसम्म डिभाइडर सहितको पुर्वाधार पछि बनेको बताए ।

पोखरामा आइतबारदेखी संचालनमा आएको स्मार्ट बत्ती नेपालकै नमुना रहेको उनको भनाइ छ । उनले पोखरा बढी वर्षा र चट्टान पर्ने क्षेत्र रहेकाले बत्तीहरु विग्रिने र त्यो भएमा पहिला आलोचना गर्नुभन्दापनि कम्पनीलाई खबर गरिदिन अनुरोध समेत गरे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तत्कालिन मेयर मानबहादुर जिसीको उज्यालो पोखरा सपना अहिले आएर पुरा भएको बताए । यति बत्ती जडान गर्दै पोखरा उज्यालो नभएको र दोस्रो चरणको कार्यका लागि प्रक्रिया अघि बढेको मेयर आचार्यको भनाइ छ ।

मेयर आचार्यले उज्यालो पोखराको अभियान सुरुमात्र भएको तर समापन नभएको सुनाए । ‘यति थोरै बत्ती जडान गर्दैमा उज्यालो पोखरा अभियान सम्पन्न भयो या पोखरा उज्यालो भयो भन्ने होइन । पोखराका अझै धेरै ठाउँमा जडान बाकी नै छ’ उनले भने, ‘हामी दोस्रो चरणको लागि निकै आतुर छौं । अब सम्झौता गरेर चाडै कामको थलानी पनि हुन्छ ।’ मेयरले पोखरामा पछिल्लो समय पटक पटक विद्युत अवरोध हुने गरेको कुरालाई जोड्दै प्राधिकरणको ध्यानाकर्षण समेत गराए । उनले आम पोखरेली नागरिकले घरी घरी बत्ती जानेको गरेको गुनासो राख्ने गरेको र यसको समाधानका लागि तत्कालै उपाय सोच्न समेत कुलमान घिसिङलाई आग्रह गरे ।

मेयर आचार्यले पोखरामा रहेका दुई हजार सोलार र फोहोरबाट विजुली निकाल्ने र त्यो विजुली प्राधिकरणले किन्नुपर्नेमा जोड दिए । ‘अहिले पोखरामा झ्याप्प झ्याप्प लाइन जान्छ । यो बारेमा मलाई अहिलेपनि धेरै साथीले गुनासो राखिराख्नु भएको छ । नेपाललाई लोडसेडिङ मुक्त बनाउने कुलमान सरलाई हाम्रो गुनासो सुनाइदिनु भन्नुभएको छ । यो समस्याको म ध्यानाकर्षण गराउन चाहान्छु’ मेयरले भने, ‘हामी संग दुई हजार सोलार छन् । हामीले त्यो सोलर र ल्याण्ड फिल साइटबाट विद्युत उत्पादन गर्छौ त्यो विद्युतलाई प्राधिकरणमा दिन्छौ र रकम मिलान गरोस भन्ने हाम्रो चाहना छ ।’

पोखरालाई उज्यालो बनाएर मात्र नहुने र पोखराका गुजुल्टिएका तारहरुको समेत उचित व्यवस्थापन गरिदिन मेयर आचार्यले आग्रह गरे । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले उज्यालो नेपाल अन्तरगत पोखरामा अभियानको सुरुवात भएको बताए । ललितपुर महानगरपछि पोखरामा यसको थालनी भएको उनको भनाइ छ । साथै विद्युत प्राधिकरणले तारहरुलाई भूमिगत गर्दै गइरहेको र पोखरामा पनि भूमिगत गर्ने कार्य भइराखेको सुनाए ।

उनले पोखराले फोहोरबाट विद्युत निकाल्ने योजनाको स्वागत गर्दै विद्युत निकालेमा खरिद गर्ने शतप्रतिशत जिम्मा प्राधिकरणले लिने प्रतिबद्धता व्यक्त गरे । पोखरामा विद्युत अवरोध हुनुको कारण एक मात्र सबस्टेसन रहेको र त्यहा १० देखी १२ वटा फिडरहरु रहेकाले एक विग्रिदा सबै बन्द गर्नुपर्ने बाध्यता रहेको समेत सुनाए । यस्तै देशभर नै अनावश्यक पोलहरु हटाउने कम भइराखेको र ठुलोमा मात्रामा रहेकाले यसको टेन्डर गरेरै हटाउनुपर्ने उनले सुनाए ।

पोखराका विभिन्न स्थानमा ट्रान्सफरको आवश्यकता रहेको र नागरिकले राख्न नदिदाँ समेत समस्या आएको बताए । ‘पोखरामा एक मात्र सबस्टेसन छ अर्को पनि सब स्टेसन हुन आवश्यक छ । त्यतिमात्र होइन ठाउँठाउँमा ट्रान्सफर्मरको पनि आवश्यकता छ र त्यो राख्न दिइराखेको छैन । यसलाई महानगर र वडाले पनि समन्वय गर्नुपर्ने देखिन्छ ।’ उनले पोखरामा दोस्रो चरणको काम गर्न आफुहरु तयार रहेको सुनाए ।

पोखरामा पनि विद्युतिय गाडीका लागि चार्जिङ स्टेसन थप्नु पर्ने र पोखराका ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा रुपान्तरण अभियान थाल्न समेत अनुरोध गरे । पोखरा महानगरपालिकाले नेपाल विद्युत प्राधिकरण र टपसन इनर्जी प्रा.लि.लाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->