बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन चोरीको आरोपमा गैससमा कार्यरत युवती पक्राउ

सुन चोरीको आरोपमा गैससमा कार्यरत युवती पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८०, मंगलबार

लमजुङ / प्रहरीले सुन चोरीको आरोपमा लमजुङमा  एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका ८, सेरा बजार बस्ने ३० वर्षीया सुजा घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले दुई ठाउँबाट सुन चोरी गरेको खुलेको छ । एक गैरसरकारी संस्थामा कार्यरत घिमिरेलाई आइतबार साँझ पक्राउ गरिए पनि प्रहरीले घटनाबारे  अबेर मात्रै जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी प्रकाश श्रीमलका अनुसार बेंसीसहरको दुई ठाउँमा चोरी भएको उजुरी आएपछि सशंकित व्यक्तिमाथि निगरानी राख्दै खोजी र अनुसन्धान अघि बढाएको थियो ।

‘घटनाको प्रकृति हेर्दा दुवै उस्तै उस्तै देखियो । हामीले नजिकै रहेका व्यक्तिहरुमाथि निगरानी बढायौं । अनुसन्धानका क्रममा तथ्य प्रमाणको आधारबाट हामीले घिमिरेलाई पक्राउ गर्‍यौं,’ उनले भने ।

प्रहरीका अनुसार घिमिरेलाई सुनको रानीहार १ थान, सुनको बाला २ थान, सुनको रातो पत्थरजडित औंठी २ थान, सुनको औंठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनीहार १ थान, सुनको टप ४ थान, सुनको पत्थरजडित टप २ थान, सुनको गणेशको मूर्ति लकेट १ थान, सुनको झुम्का २ थानसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको सुन १२ देखि १४ तोलासम्म हुन सक्छ । ‘केही सुन बैंकमा राखेको पनि देखिन्छ’ प्रहरी स्रोतले भन्यो । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत एवं सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार घिमिरेलाई लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

उनका अनुसार साउन ३० गते बेंसीसहर नगरपालिका ८, न्यू एरा बोर्डिङ स्कुल नजिकै बालकुमारी घिमिरेको घरमा सुन चोरी भएको उजुरी परेको थियो । चोरीको घटना र प्रहरीमा उजुरी दिएको विषय सार्वजनिक भएपछि नजिकै क्याम्पस रोडका गंगा र जमुना रिमाल दिदीबहिनीले गत वैशाख २५ गते आफ्नो सुनका गहना हराएको भनी उजुरी लिएर आएको प्रहरीले जनाएको छ ।

‘दुवै घटनाहरु एकै किमिसले घटेको जस्तो देखिन्छ । निगरानी बढाउँदै, अनुसन्धान बढाउँदै लग्यौं । सकेसम्मको प्रमाण पुर्‍याएर हामीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सक्यौं,’ प्रहरी निरीक्षक सुवेदीले भने । प्रहरीका अनुसार पक्राउ गरिएका घिमिरेले पछिल्लो सुन चोरीको घटनाको केही दिनपछि आफ्नो साँढे २ तोलाको सुन हराएको भनेर समेत उजुरी दिन आएका थिए । अहिले तिनै व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गत वैशाख २५ गते बेंसीसहर नगरपालिका ८, क्याम्पस रोड र साउन ३० गते सोही वडाको न्यू एरा बोर्डिङ स्कुल नजिकैबाट करिब २३ तोला बराबरको सुनका विभिन्न गरगहनाहरु चोरी भएको उजुरी परेको थियो । पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएकोमा जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजीमा तीव्रता बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->