नवलपुर /नवलपुर जिल्लाको बुलिङटार वडा नंं. २ मेलौरीका टेकबहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न सुरु गरेका छन् । पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाडापालनमा भविष्य अज्माएका ह्ुन् ।
दुई वर्ष साउदीको होटलमा बेयरा र साढे तीन वर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेपछि उनी स्वदेश फर्किए । घरमै उन्नत जातका भैंसीका पाडा पाल्न थाले । कालिगण्डकी करिडोरको आसपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउँदै गरेको अवस्थामा भेटिएका लुङदेलीले भने,‘ एक वर्षअघि २ लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडामध्ये एउटा मरेको र हुर्केका १० वटा बिक्री गरेर छ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य छ ।’
‘नलवपुरको डेढ गाउँ र आसपासमा सवैभन्दा बढी राँगाको मासु बिक्री हुने गरेको छ,’ ३५ वर्षीय लिङदेलीले थपे,‘प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।’
मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दुख सम्झेर स्वदेशमा नै केही गर्ने सोच बनाएर फर्केको बताउँदै उनले परिवारले विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन सुरु गरेको खुलाए ।हुर्केका राँगाको मासु बिक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाइदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लाबन्दी गरेका उनले धान उत्पादन दोब्बर भएको सुनाए ।





