पर्वत/ जिल्ला भलिबल संघ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिकास्थित देवीस्थानको टोली प्रथम बनेको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला अन्तर वडास्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता’ मा प्रतिस्पर्धी कुश्मा नगरपालिका–१ पाङको समूह दोस्रो बनेको छ । यस्तै कुश्मा नगरपालिका–१४ आर्थर तेस्रो बन्दा मोदी गाउँपालिका–२ देउपुरको टोली सान्त्वना स्थानमा आएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनामा स्थानमा आएका टोलीहरूले पुरस्कार स्वरूप क्रमशः एक लाख ५५ हजार पाँच सय ५५, ७७ हजार सात सय ७७, ३३ हजार तीन सय ३३ र १५ हजार पाँच सय ५५ रुपैयाँ पाएका छन् ।
यस्तै खुल्ला महिला भलिबल प्रतियोगितातर्फ धादिङको धादिङ स्पोर्टस क्लब विजेता बन्दा पर्वतकै मोदी गाउँपालिका–८ को टोली उपविजेता बनेको छ । यिनीहरूले पुरस्कार स्वरूप क्रमशः ५५ हजार पाँच सय ५५ र ३३ हजार तीन सय ३३ रुपैयाँ पाएका छन् ।
जिल्लामा रहेका भलिबल खेलाडीहरू खेल क्षेत्रबाट पलायन हुँदै गइरहेका बेला खेल क्षेत्रबाटै आयोजित जिल्लाकै पहिलो ठुलो राशिको भलिबल प्रतियोगिता भएको जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले बताए ।





