बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमाल पारी कृषि तथा पर्यटन महोत्सव

हिमाल पारी कृषि तथा पर्यटन महोत्सव


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८०, मंगलबार

बागलुङ/पर्यटन यामको छेको पारेर हिमालपारी कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो ।

दशैं तिहार जस्ता पर्वहरुको बिचमा मुस्ताङ भित्रिने पर्यटकलाई गाउँपालिकाका पर्यटकीय स्थलहरुमा घुमाउने, गाउँपालिका भित्र उत्पादन हुने स्थानीय कृषि बालीको प्रचार प्रसार र प्रबद्र्धनका लागि कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । असोज १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । आसोज २० गतेसम्म बिबिध खेलकुद तथा सांकृतिक कार्यक्रमसहित सञ्चालनहुने महोत्सवमा घरपझोङमा फलेका कृषि बालीको प्रदर्शन हुने छ ।

‘गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन र महोत्सवको उद्घाटन एकै दिन गर्ने कार्यक्रम छ,’ अध्यक्ष लालचनले भने ‘गाउँपालिकाका धेरै क्षेत्रको प्रचार र प्रबद्र्धन गर्नुपर्ने छ, महोत्सवले प्रचार र प्रबद्र्धनमा सहयोग गर्छ ।’ कृषि उत्पादन, कला संकृति र खेलकुद तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएर पनि गाउँपालिका भित्र पर्यटक कम पुग्ने गरेका छन् ।

‘पुरानो मार्फा गाउँ, धुम्वा ताल, तिलिचो लेक, छैलो झरना लगायतका प्रकृतिक सम्पदा हामिसँग छन्,’ लालचनले भने ‘हाम्रा खानाका परिकार, हाम्रा कृषि उत्पादन सबैका लागि स्वादीला हुने छन् ।’ गाउँपालिकाले दशैभरीबाट पर्यटकहरुलाई महोत्सवमा निम्ता गरेको छ । घरपझोङमा फलेको आलु, फापर, सिमी, स्याउलगायतका उत्पादन कोसेलीको व्यवस्था मिलाइएको अध्यक्ष लालचनले बताए ।

महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता र खुल्ला तारा खेल प्रतियोगिता आयोजना गरिएको छ । भलिवलमा प्रथमहुनेलाई एक लाख र दोस्रो हुनेलाई ५० हजार तथा तारा खेलमा पहिलो हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

महोत्सवमा कृषि उपज प्रदर्शन गर्ने किसानहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट कृषि उत्पादन प्रदर्शन गर्ने किसानले बिद्यागत रुपमा पुरस्कार पाउने उनले बताए । स्थानीय जातको स्याउ प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिने कार्यक्रम छ । स्याउ हाइब्रीड, स्थानीय जातको फापर, आलु सेतो, काँडे करेला, फर्सी, काँक्रो, गाजर, मुला चुकन्दर, गोलभेँडा, खुर्सानी, बन्दा काउलीलगायतका बाली प्रदर्शनमा उत्कृष्ट हुने किसानलाई पाँच हजारदेखि एक हजार रुपैयाँ सम्म पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

महोत्सवमा तीस लाख रुपैयाँ खर्च हुने गाउँपालिकाले जनाएको छ । ‘दश लाख रुपैयाँ बजेट बिनियोजित छ, बाँकी प्रायोजकहरुको खोजी भैरहेको छ,’ अध्यक्ष लालचनले भने ‘खर्च भन्दा पनि महोत्सवले दिर्घकालिन रुपमा पार्ने प्रभाव महत्वपूर्ण कुरा हो ।’ आलु र स्याउको फसल लिने याम भएकाले यहाँका किसानले महोत्सवबाट फाइदा लिने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->