बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा सुरु भयो कृषि तथा पर्यटन महोत्सव

मुस्ताङमा सुरु भयो कृषि तथा पर्यटन महोत्सव


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८०, बिहिबार

जोमसोम /  मुस्ताङको घरपझोङ गाउँपालिकाले जोमसोममा पहिलोपटक कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्रीले पाण्डेले व्यावसायिक स्याउ खेतीको लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुदायिक खेतीतर्फ लाग्न स्थानीयलाई आग्रह गरे ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले उत्पादनमा आधारित कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । कृषि तथा पर्यटन मेलामा मुस्ताङमा उत्पादित कृषि उत्पादनको प्रदर्शनी र बिक्री स्टल सञ्चालन गरिएका छन् ।

बिहीबार नै मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिको नवनिर्मित भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । गाउँपालिका भवनसँगै निर्माण भएको आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको पनि उनले उद्घाटन गरे ।

कार्यक्रममा उनले मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उनले बताए । ‘प्रदेशका अन्य जिल्लाजस्तै विकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरी सरकारले बजेट विनियोजन गरेका कार्यक्रममा प्राथमिकता दिएका छौं,’ उनले भने ।

मुस्ताङको विकासका लागि धार्मिक पर्यटनलाई प्राथमिकता दिनुको विकल्प नरहेको उनको भनाइ थियो । ‘धार्मिक पर्यटन, साहसिक खेलको विकासले पनि मुस्ताङमा पर्यटन प्रवर्द्धन हुन सक्छ,’ उनले भने, ‘ यस वर्षको बजेटमा प्रदेश सरकारले प्राथमिकता दिएको छ ।’ प्रदेश सरकारले मुस्ताङ जिल्लाको लागि यस वर्ष ८० करोड रुपैयाँ विनियोजन गरेको र आगामी वर्ष यो बजेट एक अर्ब पुग्ने उनले बताए ।

मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो पर्ने वैकल्पिक मार्गको लागि १० करोड रुपैयाँ विनियोजन गरेको सुनाए । उनका अनुसार कास्कीको वीरेठाँटी, म्याग्दीको घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु हुने छ ।

ढुंगा, गिट्टी, बालुले थुप्रिएर कालीगण्डकी नदीको बहाव बस्तीको सतहभन्दा माथि आउँदा जोखिम बढेकोप्रति आफू जानकार रहेको उनले बताए । सर्वोच्च अदालतले शालिग्राम जोगाउनुपर्ने भन्दै कालीगण्डकी उत्खनन् नगर्न जारी गरेको अन्तरिम आदेशले ढुंगा, गिट्टी, बालुवा निकाल्न नपाउँदा जोखिम बढेको तर्क उनले गरे । ‘शालिग्रामको आफ्नै महत्त्व छ, तर मानिसको ज्यानभन्दा शालिग्राम ठूलो हुन सक्दैन,’ उनले भने ‘बस्ती जोगाउन तत्काल उत्खनन् गर्नुपर्ने आवश्यकता छ । कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।’

गण्डकीमा मुख्यमन्त्री पाण्डे ४० जनाको टोलीसहित चार दिनदेखि मुस्ताङ भ्रमणमा छन् । भ्रमणका क्रममा उनले बाढीले क्षतिग्रस्त कागबेनीको निरीक्षण गरे । उपल्लो मुस्ताङको लोमान्थाङमा प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी भएर उनले कोरला नाका समेत अवलोकन गरे । बुधबार उनले कोरला नाकाको अवलोकनपछि नाका खोल्ने सरकारको तयारी भइरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->