पर्वत/ साबिकको धौलागिरिमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने गरी निर्माण भएको कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मको खण्डमा परीक्षणको काम सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाबाट निर्माण भएको कुश्मा–न्यु बुटवल खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको खुर्कोट सवस्टेशन देखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सुनवल नगरपालिकामा रहेको न्यु बुटवल सवस्टेशन सम्म परीक्षणको काम सकिएसँगै अब ‘करेन्ट’ प्रवाह हुन लागेको छ ।
कालीगण्डकी प्रसारण कोरिडोरका सुपरभाइजर देव शर्मा पौडेल अनुसार म्याग्दीको दानादेखि तानिएको लाइन पर्वतको खुर्कोटसम्म आइपुगेको छ । दाना–खुर्कोट खण्डका दुईवटा सबस्टेशनको बिचमा एक सय १० वटा टावर निर्माण गरेर करिब ४९ किलोमिटर तार तानेर पनि त्यो खण्डमा विद्युतको काम पूरा भएको छ । बाँकी रहेको खुर्कोट–न्यु बुटवलसम्म दुई सय ३५ वटा टावरमार्फत करिब ८८ किलोमिटर लम्बाइमा तार तानेर प्रसारण कोरिडोरले उद्देश्य अनुसारको काम गर्न थालेको हो ।
‘खुर्कोट– न्यु बुटवल सवस्टेशनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइन अब ‘लोड’ लिएको छ । परीक्षणको काम सकेर लाइन चार्ज पनि भइसकेको छ । करेन्टको सप्लाई लगातार भइरहेको छ’, सुपरभाइजर पौडेलले भने, ‘अहिले त्यसमा चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन । करेन्ट प्रवाह छैन भन्नुको अर्थ धौलागिरि अथवा कालीगण्डकी, मोदी रिड्जमा उत्पादन भएको सिधै यो लाइनमार्फत उता (नवलपरासी) पठाइएको छैन । भोल्टेज प्रवाह छ करेन्ट प्रवाह छैन ।’
प्रसारण कोरिडोर निर्माण नहुनेबेलासम्म धौलागिरिका कालीगण्डकी, मोदी लगायतका नदीहरूबाट उत्पादन गरिएको विद्युत् सिधै बुटवल क्षेत्रमा जोडिन पाएको थिएन । तर कोरिडोरको काम पूरा भएसँगै यस क्षेत्रबाट मेगावाट ट्रान्सफर आज भोलिमा नै हुने अवस्थामा रहनु खुसीको कुरा भएको पौडेल बताउँछन् । विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै सुपरभाइजर पौडेलले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकोले यो दीर्घकालीन रूपमा पनि निकै लामो आयु भएको आयोजना रहेको उल्लेख गरे ।
तत्कालका लागि एक सय मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताको लागि भूमहीमा अहिले एक सय एम.बी.ए. क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको छ । तर आयोजनाले एक/दुई महिनाभित्रमा नै तीन सय १५ एम.बी.ए.को ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ ।
कतिपयले धौलागिरिमा खपत गरेर बाँकी रहेको विद्युत् प्रसारण कोरिडोरमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको बुझेको भए पनि त्यसो नहुने पौडेल बताउँछन् । प्रसारणमा जोडिएपछि जता–जता विद्युतको खपत हुन्छ उतै–उतै प्रवाह हुने भएकोले आवश्यकता अनुसार प्रयोग गर्न सकिने उनको भनाइ छ । ‘प्रयोग गरेर रहेको उता जाने भन्ने हुँदैन । ग्रिडमा जडान भएपछि जता खपत हुन्छ लाइन उतै जान्छ’, पौडेलले भने, ‘यो लाइनमा यति क्षमता छ की अबको २० वर्षसम्म यो क्षेत्रमा उत्पादन हुन सक्ने विद्युत् पनि यसले धान्ने छ । अहिले कुश्माबाट सिधा बुटवल लाइन जोडिएको थिएन । अब आज भोलिबाट नै बुटवलमा जोडिएको पनि हुन सक्छ । म फिल्डमा नै रहेको छु ।’
प्रसारण कोरिडोर अन्तर्गत पर्वतको खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको न्यु बुटवल सवस्टेशनसम्म पुगेको छ । दुई सय २० के.भी. ‘डवल सर्किट’ प्रसारण लाइनको निर्माण कार्यपछि परीक्षण सकिए पनि लाइनमा हाई भोल्टेज करेन्ट प्रवाह हुने भएकोले उक्त प्रसारण लाइनको टावर तथा तार आदिमा छुने, नजिक जाने, झटारो हान्ने, लाइन वरपर जानेलगायतका कामहरू नगर्न आयोजनाले अनुरोध गरेको छ ।





