बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सोह्र श्राद्धका १६ दिनमा १९ हजार बढी तिर्थालु मुस्ताङ पुगे

सोह्र श्राद्धका १६ दिनमा १९ हजार बढी तिर्थालु मुस्ताङ पुगे


  • संजय रेग्मी
  • असोज २८ २०८०, आइतबार

पर्वत/ गत असोज १३ आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई असोज २७ गते औँसीका दिनसम्म रहेका सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा करिब १९ हजार बढी तिर्थालुहरु मुस्ताङ पुगेका छन् ।

मुस्ताङ आउजाउ गर्ने सवारी साधनहरूको तथ्याङ्क राख्ने गरेको मुस्ताङको घासामा रहेको घासा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक प्रताप महतका अनुसार उक्त अवधिमा तीन हजार पाँच सय बढी सवारी साधनको प्रयोग गरेर १९ हजार भन्दा केही बढी यात्रुहरू मुस्ताङ छिरेका छन् । यसरी पुगेका यात्रुहरूमध्ये लगभग सबैजसो कागबेनी र मुक्तिनाथका लागि गएको उनको भनाइ छ ।

विगतका वर्षमा यो भन्दा धेरै सङ्ख्यामा तिर्थालुहरु मुस्ताङ आउने गरेको तथ्याङ्क प्रहरीमा रहेको देखिए पनि यस वर्ष भने उनीहरू घटेका छन् । विगतका वर्षमा सोह्र श्राद्धको अन्तिम दिन औँसीमा करिब एक हजार पाँच सय जति सवारीहरू मुस्ताङ छिर्ने गरेको भए पनि यो वर्ष भने करिब आठ सय मात्र छिरेका छन् । अन्य दिनमा पनि विगतका वर्षका तुलनामा यस वर्ष घटेको प्रहरीले बताएको छ ।

‘पोहोर र पहिलेका वर्षहरूमा पनि धेरै आउने गरेको तथ्याङ्क छ । यहाँका स्थानीयवासीले पनि पोहोर परार भन्दा अहिले यात्रु र सवारीहरू कम आएको भनेर कुरा गर्दै हुनुहुन्थ्यो’, प्रहरी सहायक निरीक्षक महतले भने, ‘अहिले दुई सय वटा मोटरसाइकल र साना ठुला गरेर तीन हजार तीन सय गाडीहरूमा तिर्थालुहरु आउनुभयो। यो वर्ष आज औँसीको दिनमा करिब आठ हजार एकै पटक मुस्ताङ भित्रिनुभएको छ ।’

देशभर देखिएको आर्थिक मन्दी र गत असार २८ गते साँझ कालीगण्डकी नदीमा आएको बाढीले कागबेनीमा ठुलो क्षति बनाएका कारण नै यस वर्ष तिर्थालुहरुको सङ्ख्या कम भएको हुन सक्ने स्थानीय नागरिक छेप्तेन गुरुङले बताए । बाढीको वितण्डाको बारेमा सञ्चार माध्यमहरूमा सबैले देखेकाले पनि कतिपयमा कागबेनीमा भौतिक संरचना नभएको सोचाइ आएको हुन सक्ने तथा मौसमको यकिन नभएकाले कतिपय तिर्थालु अझै पनि बाढी त्रासमा रहँदा उनीहरू नआएको हुन सक्ने उनको भनाई छ ।

‘कागबेनीमा श्राद्ध गरेर पिण्ड दान गर्ने किनार नै कालीगण्डकीको बाढीले बगायो । यहाँका भौतिक संरचनामा ठुलो क्षति भएको कुरा सबैले देख्नु पनि भयो’, उनले भने, ‘फेरि अहिले मौसम ठिक भइहाल्यो भन्ने अवस्था छैन। फेरि वर्षा भयो भने कालीगण्डकीमा फेरि बाढी आएर त्यसमा परिने हो की ? भन्ने चिन्तामा पर्नुभएको हुन सक्छ ।’
अहिले देशभर आर्थिक सङ्कटका कारण हरेक व्यापार व्यवसाय धराशायी बन्दै गइरहेको बेलामा घुम्नेहरूको अभाव भएको हुन सक्ने कागबेनीमा पूजाआजा गराउने पण्डित बालकृष्ण सुवेदीले बताए । सोह्र श्राद्धमा दैनिक करिब सात सय जनाको आसपासमा मात्रै तिर्थालुहरु आएको उनको भनाइ छ । सोह्र श्राद्धको अवधिभर खासै मान्छे नआएको भए पनि अन्तिम दिन औँसीमा भने श्राद्ध गर्न आउनेहरूको राम्रै भिड रहेको उनले बताए ।

‘पहिला पहिला त सोह्र श्राद्धभर नै श्राद्ध गर्न भ्याइ नभ्याई हुन्थ्यो। यहाँ गाडी पार्किङ गर्ने ठाउँ पाउनै मुस्किल हुन्थ्यो । यो वर्ष विगतका तुलनामा त के मान्छ आउनुभयो र खै ?’ पण्डित सुवेदीले भने, ‘अहिले आर्थिक मन्दीले गर्दा मान्छेसँग पैसा छैन भन्छन् । पैसा भए पो यात्रा हुन्छ, पैसै नभएसी कसरी आउने ? अर्को बाढीले कागबेनीमा क्षति गरेकाले पनि कम आउनुभएको होला ।’

दिवङ्गत भएका आफन्तलाई पितृका रूपमा स्मरण गर्दै सोह्र श्राद्धमा पिण्ड दान गर्ने गरिन्छ। सोह्र श्राद्धको बेलामा विभिन्न कारणले पिण्ड दान अर्थात् श्राद्ध गर्न नपाएकाहरूले सोह्र श्राद्धको अन्तिम दिन औँसीमा पिण्ड दान गर्ने चलन छ । सोह्र श्राद्धमा पिण्ड दानका लागि प्रसिद्ध ठाउँ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागबेनी पनि हो । आन्तरिक र बाह्य पर्यटकहरु तथा तिर्थालुहरुको आकर्षणको केन्द्रका रूपमा रहेको कागबेनीमा श्राद्ध गर्नेहरूको भिड लाग्ने गरेको छ ।

श्राद्ध गर्ने स्थल कागबेनी समुन्द्री सतहबाट करिब दुई हजार आठ सय १० मिटरको उचाइमा रहेको छ भने पूजाआजा गर्नका लागि प्रसिद्ध मुक्तिनाथ मन्दिर करिब तीन हजार सात सय १० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->