बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘रहरले विदेसिएकाहरूले नेपालमा काम छैन भन्ने भाष्य निर्माण गरे’ : मुख्यमन्त्री पाण्डे

‘रहरले विदेसिएकाहरूले नेपालमा काम छैन भन्ने भाष्य निर्माण गरे’ : मुख्यमन्त्री पाण्डे


  • संजय रेग्मी
  • असोज २८ २०८०, आइतबार

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाध्यताले नभई रहरै रहरमा विदेसिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य निर्माण गरिरहेको दाबी गरेका छन् ।

पर्वतका जलजला गाउँपालिकामा शनिवारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले बाध्यतामा विदेश गएकाहरूले स्वदेशको उन्नतिमा चिन्ता गरिरहेको र लगानीको वातावरण खोजिरहेको भए पनि रहरले विदेश गएकाहरूका कारण नेपालको सम्पत्ति पलायन भएको तर्क गरे ।

‘सबै जनाले दुःख नै पाएर विदेसिनु भएको होइन । कोही बाध्यताले र कोही रहरले बिदेसिनुभएको छ । बाध्यताले गएकाहरूमा नेपालप्रतिको माया बढी देख्छु । उहाँ दिनको डलर कमाउनको लागि कति दुःख गर्नुपर्छ भन्ने हामीले देखेका छौँ । विदेशमा गएर कमाउन सक्ने बनाएको पनि यही माटोले हो’, उनले भने, ‘फेसबुक लाइभमा आएर नेपालमा केही पनि छैन, नेपालमा काम छैन, नेपालमा बसेका काम नपाएका जस्ता हुन भन्ने लगायतका कुराहरू गरेर एक प्रकारको माहौल सिर्जना गर्न खोजिएको छ, ती सबै रहरले विदेशमा गएकाहरू हुन् । बाउआमाले यहाँ आर्जन गरेको चल अचल सम्पत्ति बेचेर वैध अवैध बाटोबाट विदेश लागेर यहाँ बचेकुचेको पैतृक सम्पत्ति पनि पलायन भएको छ । यसलाई यहीँ बसेर होस वा विदेशमा रहेका साथीहरूबाट रोकिनुपर्छ ।’

गण्डकी प्रदेश सरकारले रोजगारीका अवसरहरू सिर्जना गरेर नेपालको जनशक्ति र सम्पत्ति पलायन हुनबाट रोक्न सक्ने खालका कार्यक्रम ल्याउन खोजिरहेकोले प्रवासमा रहेका नेपालीहरूले पनि यसमा साझेदारी गर्न मुख्यमन्त्री पाण्डेले आह्वान गरे । यसका लागि प्रदेश सरकारले ५० करोड भन्दा बढी रकम ‘रिजर्भ’ मा राखेकोले कार्यक्रमलाई साझेदारीमा अगाडि बढाउन सकिने उनको आग्रह थियो । विदेशमा रहेका नेपालीहरूले उद्योग, होटेल देखि उत्पादनमुखी कार्यक्रमहरूमा लगानी गर्न चाहेमा गण्डकी प्रदेश सरकार कुनै न कुनै रूपमा केही न केही गरेर साझेदार बन्न चाहेको उनले बताए । निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने र त्यसका लागि आवश्यक वातावरण तयार पर्न कानुन वा नियममा संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

सरकारले नै लागत साझेदारी गर्ने भएपछि व्यक्ति र सरकार दुवैको लगानी सुरक्षित हुने भएकाले ढुक्क भएर लगानी गर्न उनको अनुरोध छ । ‘यहाँ लगानी गर्दा हाम्रो लगानी डुब्छ, यहाँ केही पनि गर्न सकिँदैन, हुँदैन भन्ने भन्ने भाष्य निर्माण भएको बेलामा त्यो होइन तपाईँसँग सरकार पनि छ भन्नका लागि नै हामी साझेदारी गर्न चाहेका छौँ’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसका लागि सरकारले ५० औँ करोड रुपैयाँ छुट्टाएको छ । सरकार आफैले साझेदारीमा लगानी गरेपछि आफ्नै लगानी डुबाउन चाहँदैन। तपाईँको लगानी पनि हामीले नै सुरक्षित गरेर अगाडि बढाउने छौँ । रोजगारी कसरी सिर्जना गर्ने ? भन्नेमा हामी मिहिनेत गरिरहेका छौँ ।’

नेपालबाट युवाहरू बिदेसिने तथा कोहीले सधैँका लागि परिवार नै विदेश लैजाने गरेको प्रसङ्गका बारेमा बोल्दै उनले बेला बेलामा विश्वभर ‘माइग्रेसन’ को ‘ट्रेन्ड’ नै चल्ने गरेको बताए । तर नेपालको ‘माइग्रेसन’ को ‘ट्रेन्ड’ भने डरलाग्दो भएको उनको भनाइ छ । गाउँको व्यक्ति सहरमा, सहरको व्यक्ति विदेशमा तथा एउटा विकसित देशको मान्छे अर्को विकसित जाने गरेको मुख्यमन्त्री पाण्डेले सुनाए ।

‘जापानमा राम्रो कमाई भएको मान्छेलाई अमेरिका सर्न मन लागेको छ । फेरि अमेरिकामा राम्रो कमाई भएको नागरिक देशमा सुरक्षा नभएको भन्दै सुरक्षा खोज्दै युरोपका देशहरूमा सर्न चाहेको देखिन्छ’, उनले भने, ‘बसाइसराइ भनेको एउटा ट्रेन्ड हो । गरिब मात्रै होइन धनी पनि बसाइ सर्न चाहेको यसले पुष्टि गर्छ। हाम्रो भन्दा ठुलो इकोनोमी भएको छिमेकी भारतका नागरिक पनि त बसाइ सरिरहेका छन् नि । तर हामीकहाँ भने डरलाग्दो ट्रेन्ड भयो, गाउँ र बस्ती पूरै खाली भएको छ । जमिन बाँझिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->