पर्वत / जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित मल्याङ्दी खोलाका ९३ वर्षीय सिपबहादुर घिमिरे सोमबार सदरमुकाम कुश्मा बजारमा रहेको प्रभु बैंकको पेटीमा पालो पर्खिएर बसेका थिए । त्रैमासिक रूपमा आउने सामाजिक सुरक्षा भत्ता बुझ्नाको लागि बिहान १० बजे नै बैंकको शाखामा पुगेका उनको पालो १२ बज्दा आयो । बैङ्कमा पालोको पर्खाइ भन्दा पनि भत्तालाई दशैं खर्च बनाउन पाउनेमा उनी खुसी थिए ।
‘बिहानै खाना खाएर आएर लाइनमा बसेको अहिलेसम्म नि पालो आएको छैन । आज पैसा निकालेपछि यसैले दशैं खर्च चलाउन सजिलो होला’, उनले भने, ‘वडाबाट भत्ता दिए सजिलो हुँदो हो के रे ! यो बुढेसकालमा यत्रो बाटो आएर बैंकमा कुरेर बस्यो फेरि घर कसरी पुग्ने ?’
बैंकको ढोकानेरै पालाको पर्खाइमा रहेकी कुश्मा नगरपालिका–१ पाङकी रामकली नेपाली पनि भत्ता निकाल्नको लागि लाइनमा थिइन् । उमेर सोध्दा आफ्नो उमेर थाहा नभएको बताएकी उनको हातमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि थियो । जसमा उनको जन्म मिति १९८४ साल थियो । यो अनुसार ९६ वर्ष उमेर पुगेकी उनी पनि बिहानैदेखि भत्ताको पर्खाइमा थिइन् । वडा कार्यालयबाट भत्ता पाउने व्यवस्था नहुँदा दुःख पाएको गुनासो रामकलीले पनि गरिन ।
पाइलो चाल्न मुस्किल हुने बेलामा पनि पैसाको आसमा बैङ्कको ढोकामा कुरेर बस्नुपर्दा दुःख भएको उनले बताइन् ।
आर्थिक कारोबारहरू कम हुँदै गएको, बजार सुनसान बन्दै गएको तथा व्यवसायीहरू पेसाबाट विस्थापित हुँदै गएको बेलामा दसैँ लागेपछि भने बजार चलायमान भएको देखिएको छ । सोमबार कुश्मा बजारमा भीडभाड देखिन्थ्यो । सबैभन्दा बढी भिडभाड त बैङ्कहरूमा नै देखिएको थियो । मंगलबार मसान्त भएकोले राजश्व जम्मा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, शिक्षकहरूको तलब निकासा गर्नुपर्ने लगायतका कारण बैङ्कहरूमा निकै भीड भएको हो ।
नेपाल बैंक लिमिटेड कुश्मा शाखाका प्रबन्धक प्रकाश पोख्रेलका अनुसार सोमबार मात्रै करिब एक हजार भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् । साँझ छ बजेसम्म पनि सेवाग्राहीलाई बैंकभित्र राखेर सेवा दिइएको उनले बताए । ‘हिजो एकै दिनमा निकै भीडभाड भयो । व्यक्ति एक हजार आए पनि उहाँहरू एकै जनाले दुई वा त्यो भन्दा बढी काम लिएर आउँदा कामको संख्या धेरै भएको हुन्छ’, उनले भने, ‘त्रैमासिक रूपमा जम्मा गर्नुपर्ने राजश्व बुझाउने अन्तिम समय, दशैंको बेलामा आफ्नो खातामा रहेको पैसा निकाल्न आउनेहरू, शिक्षकहरूको तलब लगायतका कामले भिड बढेको हो ।’
प्रभु बैंक कुश्मा शाखाका प्रबन्धक लक्ष्मी प्रसाद पौडेलका अनुसार सोमबार कुश्मा नगरपालिका–१ पाङ र वडा नं. ९ कटुवाचौपारीका २५० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षासम्बन्धी कारोबार गरेका छन् । यस्तै अन्य एक सय ७० जना सेवाग्राहीले कारोबार गर्दा एक दिनमा चार सय २० जनाले बैंकिङ कारोबार गरेका छन् । नजिकै रहेको गरिमा विकास बैंकमा कुल तीन सय ९५ जनाले कारोबार गरेका छन् । फलेवास नगरपालिका–३ र ४ तथा कुश्मा नगरपालिका–१२ का दुई सय एक जनाले सामाजिक सुरक्षा भत्ताको कारोबार गर्दा अन्य एक सय १५ जनाले पनि शाखाबाट सेवा लिएका छन् ।





