पर्वत/ गत साउन २८ गते आएको बाढीले क्षत विक्षत बनाएको पर्यटकीय तथा धार्मिक स्थल मुस्ताङको कागबेनीको पुनर्निर्माण बारेमा स्थानीयसँग छलफल भएको छ ।
भारी वर्षाका कारण काग खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको कागबेनी र बाढीका कारण क्षति भोगेका स्थानीयवासीको पुनः स्थापनाको लागि गर्न सकिने कामहरूको बारेमा छलफल भएको हो । अवलोकन निरीक्षणमा पुगेका गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन र विमला गौचन, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल लगायत पुगेका थिए ।
बाढी र बाढी पीडितहरूको स्थलगत निरीक्षणका लागि पुगेका सरकारी निकायका प्रतिनिधिहरूसँग स्थानीय नागरिक सहित जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू समाजसेवी एवं बाढी पीडित कागबेनीवासीहरूबिच छलफल भएको हो । क्षतिको कारण पहिचान, संरक्षण र पुनःस्थापनाका लागि स्थानीय र प्रदेश सरकारबाट गरिएका कार्यहरू र आगामी दिनमा गर्नुपर्ने दीर्घकालीन संरक्षण र पुनः स्थापनाका विषयमा छलफल भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले बताए । छलफलका क्रममा बाढी पीडित स्थानीयले खोलालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने काम राज्यका तर्फबाट भइदिए पुन स्थापनाका कतिपय कामहरू आफैले गर्न सक्ने बताएका छन् ।
‘खोलामा तत्कालै राम्रोसँग तटबन्ध लगाउनुपर्ने देखिएको छ । त्यो तटबन्ध सय वर्ष टिक्ने गरी बनाउनुपर्ने देखिन्छ र त्यसका लागि करोडौँ रुपैयाँ लगानी लाग्ने अवस्था छ । बाढीले नौ घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने २६ घरमा आंशिक क्षति बनाएको छ’, उनले भने, ‘खोलालाई पेलेर मापदण्ड बिना घरहरू बनेको देखिन्छ । जम्मा पाँच मिटरको चौडाइमा खोला बग्न दिइएको छ जबकि त्यो २० मिटर हुनुपर्ने थियो । बग्ने भाग साँघुरो भएकै कारण खोलामा पानी ठेलिएर आएको हो ।’
छलफलका क्रममा थोरै लगानीले पितृ श्राद्ध गर्ने कागबेनी, बौद्ध गुम्बा, स्थानीय नागरिकका घर लगायतका भौतिक संरचना निर्माण गर्न सम्भव नभएकोले राज्यले क्रमिक रूपमा लगानी गर्दै जानुपर्ने सुझाव आएका छन् । अब तटबन्ध लगाउँदा सयौँ वर्ष केही नुहुने गरी निर्माण हुनुपर्ने र त्यसको लगानीको लागि राज्य तयार हुनुपर्ने स्थानीयको माग छ । पूर्ण रूपमा घर भत्किएर विस्थापित भएका नौ परिवारलाई बसोबासको व्यवस्था हुनुपर्ने, खोला नियन्त्रणको काम राज्यले गरिदिएमा अरू काम आफूहरूले पनि गर्न सक्ने पीडितहरूले बताएका छन् ।
छलफलका क्रममा मन्त्री थापाले बाढी आए लगत्तै प्रदेश सरकारले तत्कालै राहत तथा उद्धारको काम गरेको भन्दै उनले कागबेनीको पुनर्निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराए । तत्कालका लागि प्रदेश सरकारले काम सुरु गर्नको लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ । मन्त्री सहित राज्यकातर्फबाट पुगेका प्रतिनिधिहरूसँग कुरा गर्दै स्थानीयवासीले आगामी दिनमा बस्तीको संरक्षणका लागि कागबेनीवासी सुरक्षित हुने गरी काग खोलाको निश्चित मापदण्ड तयार गरी खोला नियन्त्रणको काम अगाडि बढाउन अनुरोध गरेका छन् ।
सोही अवसरमा मुस्ताङको प्रसिद्ध ढुम्बा तालको अवलोकन गर्नुका साथै र ताल वरपर भू तथा जलाधार व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा पर्यटनतर्फको बजेटबाट निर्माण सम्पन्न गरेका मेशिनरी पर्खाल, ढुङ्गा छपाई र रेलिङ राख्ने कार्यको अवलोकन गरिएको छ ।





