
बागलुङ/ मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । यसअघि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधिर सुरक्षा अधिकारीबीच सहमति भएको लोमान्थाङका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए ।
‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा नेपाल पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ’ उनले भने ‘चिनियाँ पक्षले सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवतजावत गर्न पाउने भएका छन् ।’
यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्डका ९ सय ८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो ।
सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ लिचीसम्म ब्यापार, व्यवसायका लागि नियमित आवतजावत थालेका छन् ।
कोरोना महामारीपछि २०७६ देखि कोरला नाका बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।





