पर्वत / भित्र्याउने बेलाको कोदो सुकेर सखाप भएपछि जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक चिन्तामा परेका छन् । कोदो पाकेर काट्ने भएको बेलामा गाउँघरमा ‘राते’ भन्ने गरिएको रोगले कोदो बाली नै सुकेर सखाप भएपछि यस वर्ष कोदोको सङ्कट हुने देखिएको कृषकहरूले बताएका छन् ।
शंकरपोखरीका कृषक गणेश थापाले विगतमा उत्पादन हुने गरेको कोदोको तुलनामा यस वर्ष करिब ७० प्रतिशत सखाप भएको बताए । आफूले अघिल्लो वर्ष सात मुरी कोदो उत्पादन गरेकोमा यस वर्ष एक मुरी जति मात्रै उत्पादन हुने अनुमान गरेको उनको भनाइ छ ।
‘गाउँघरमा यसलाई राते भन्ने गरेको भनेर अलि बुढापाकाहरूले भन्नुभएको छ । म आफूले त यस्तो भएको अहिलेसम्म देखेको थिइन् । यस पटक न मान्छेले खाने कोदो हुने भयो न त चौपायाले खाने नै’, उनले भने, ‘असिनाले पिटेर अलि अलि बाँचेको कोदो पनि रोगले खाएपछि अब यसलाई बचाउने केही उपाय नै छैन । एकाएक समस्या आएको भए कृषि ज्ञान केन्द्रमा भन्न हुन्थ्यो । बिस्तारै बिस्तारै थाहा नपाउने तरिकाले सखाप भयो ।’
धान खेतीको तुलनामा कोदो खेती गर्न कठिन हुने भएकाले यसको लगानी पनि धेरै पर्न आउने थापा बताउँछन् । धान जस्तै एकै दिनमा धेरै परिमाणमा रोप्न नसकिने भएकाले बारीको एउटै पाटामा रोप्नका लागि पनि धेरै जना खेताला लाग्ने उनी बताउँछन् । बीउ उत्पादन गर्ने, तयारी गर्ने, रोपाइ गर्ने, गोड्ने, थन्क्याउने गर्दा एक पाथी कोदोको मूल्य करिब चार सय रुपैयाँ जति पर्न आउने थापाको अनुमान छ । आफूले सरोकारवाला निकायदेखि सामाजिक सञ्जालमा समेत राखेर कोदो बालीमा देखिएको समस्याको समाधान खोजेको भए पनि त्यसमा कसैले चासो नदेखाएको उनको दाबी छ ।
साउनको अन्तिम र भदौको सुरुवाती दिनमा कोदो गोड्ने बेलामा राम्रै रहेको भए पनि त्यसपछि भने बिस्तारै रोगले च्याप्दै लगेको अर्का कृषक श्यामबहादुर थापाले बताए । सधैँ राम्रो हुने गरेको बारीमा यस पटक कोदो काट्न जानै नपर्ने गरी सुकेर गएकाले मानिसको भन्दा पनि चौपायाको चिन्तन धेरै भएको उनको भनाइ छ । कोदोलाई मुख्य खाद्यान्नको रूपमा नखाने भएकाले मानिसलाई समस्या नहुने भए पनि कोदो चौपायाको मुख्य खाद्यान्न भएकोले यस वर्ष बस्तुभाउ पाल्नमा नै समस्या हुने थापा बताउँछन् ।
‘यो माथिल्लो क्षेत्र लेक नै हो। यता धान हुँदैन । कोदो राम्रो हुने भएकाले बरु कोदो बिक्री गरेर चामल ल्याउने गरिन्छ । फेरि गाईबस्तुलाई खुवाउने आहार नै कोदो हो । उत्पादन राम्रो हुने भएकाले चोकर भन्दा पनि कोदो नै बढी खुवाउने गरिन्छ’, उनले भने, ‘कहिले असिनाले खाने, कहिले रोगले खाने, कहिले बाँदरले खाने । जसरी भए पनि हाम्रो मिहिनेत खेर गइरहेको छ । ऋण धन गरेर वर्ष दिनका लागि अन्न उत्पादन गर्न मिहिनेत गर्दा पनि हातमा लाग्यो शून्य भयो ।’
शंकरपोखरीको क्षेत्रमा देखिएको यो समस्याको बारेमा कुरा गर्दा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले फोटोमा हेरेको र अवस्था सुनेकै आधारमा कुन रोग हो भन्ने यकिनका साथ भन्न नसकिने बताए । कोदोमा देखिएको समस्याको बारेमा आफ्नो कार्यालयमा जानकारी नआएको भन्दै उनले समस्या देखिएको भएमा प्राविधिकहरू पठाएर समस्याको कारण पत्ता लगाएर समाधानको पहल गर्ने उनको भनाइ छ ।





