शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

के छ ढोरपाटनले उत्साहित हुँदै एमाले अध्यक्ष ओलीलाई बुझाएको ज्ञापन पत्रमा ? (पूर्णपाठसहित)

के छ ढोरपाटनले उत्साहित हुँदै एमाले अध्यक्ष ओलीलाई बुझाएको ज्ञापन पत्रमा ? (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८०, शुक्रबार

बागलुङ / नेकपा एमाले झुलाघाट–चिवाभञ्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ को अभियानमा छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसको नेतृत्व गरेका छन् । पार्टीका बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल सहितको सिंगो पार्टी नेतृत्व मध्य पहाडी लोकमार्ग केन्द्रित यो अभियानमा सहभागी भइरहेका छन् ।

यो टोली जुन जुन स्थानमा पुग्छ, त्यहाँका स्थानीय एमाले नेता तथा कार्यकर्ताहरु र कतिपय स्थानमा सर्वदलिय बैठक मार्फत तयार गरिएका मागहरु अध्यक्ष ओलीलाई वुझाउने काम भइरहेको छ । यहाँ हामीले बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा संघिय सांसद देवी भट्टचन र एमाले नगर अध्यक्ष गणेश कुमार थापा मगरले हस्त्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रको पूर्ण पाठ प्रकाशन गरेका छौ – सम्पादक ।

श्री केपी शर्मा ओलीज्यू ।
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले)
केन्द्रीय कार्यालय, ललितपुर च्यासल ।

विषयः मागपत्र सम्बन्धमा ।

विषय प्रवेश : 
झुलाघाट–चिवाभञ्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ महान अभियानको नेतृत्व गरिरहनु भएका श्रद्धय अध्यक्षसहित केन्द्रीय टोलीलाई ढोरपाटन नगरपालिकामा हार्दिक स्वागत गर्दछौं । यो महान यात्राको छैठौं दिन पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने दोस्रो ठुलो सहर बुर्तिबाङमा स्वागत गर्न पाउँदा सिङ्गो स्थानीय पार्टी पंक्ति उत्साहित छ । समृद्धिका लागि यात्रा गरिरहेको केन्द्रीय टोली यहाँ आइपुग्दा ढोरपाटन र तमानखोलावासी सबै तहतप्काका जनताले अत्यन्त गौरवको अनुभूति गरिरहेका छन् । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहितको यो यात्राले ७६२ किलो मिटर पुष्पलाल मध्यपहाडी लोकमार्गलाई पार गर्दै गर्दा राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन सफल भएको छ ।

पृष्ठभूमिः
समृद्धि यात्राको छैठौं दिन, विहानीको शुभयात्रा पातीहाल्नेबाट सुरु भएको छ । जहाँबाट गण्डकी प्रदेश प्रारम्भ हुन्छ । पातीहाल्नेदेखि निसीखोला पूर्व ढोरपाटन र तमानखोला पालिकाले चर्चेका भूगोलभित्रका भाषा, संस्कृति, परम्परा, रहन÷सहन एउटै मालामा गाँसिएको छ । त्यसैले भन्ने गरिन्छ– ‘चौध निसी, पन्ध्र भूजी, आठ गाउँ तमान’ ।
जुन बिन्दु (झुलाघाट)बाट संकल्प यात्रा उद्घाटन गरियो, सोही ठाउँ हुँदै फैलिएको १२औं शताब्दीसम्मको खस साम्राज्य र त्यसपछि सिंजा राज्यको भूगोल यहाँसम्मै फैलिएको थियो । ढोरपाटन क्षेत्र खस साम्राज्य र सिंजा राज्यको व्यापारिक र सैन्य हमला गर्ने सामरिक नाका समेत भएको अध्यक्ष कमरेडलाई अवगत गराउन चहान्छौं । भोटमा नुन र सुनको व्यापार, रिडी साँस्कृतिक सम्बन्ध, पोखरा हुँदै नुवाकोट, उपत्यका (काठमाडौं) जोड्ने नाका यही ढोरपाटन क्षेत्र थियो । चौबिसी राज्यको शक्तिशाली पर्वत राज्यलाई ‘चार हजार पर्वत’को राज्य भनेर स्थापित गराउने जनता यही निसी–भूजीका थिए । नेपाल एकीकरण पछि उपल्लो २२ र तल्लो १८ खानीमा विभाजन गरियो । उपल्लो २२ खानी यी तीनवटै (ढोरपाटन, तमान, निसीखोला) पालिकाभित्र पर्ने अध्यक्ष कमरेडलाई जानकारी गराउन चहान्छौं । त्यससँगै नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रसमेत बागलुङ जिल्लाको यी तीनै पालिकाभित्र रहेको श्रद्धय अध्यक्ष ज्यूलाई अवगत गराउन चहान्छौं । यस क्षेत्रको सामान्य जानकारीसहित अध्यक्षज्यूसँग देहाय बमोजिमका मागहरु पेश गर्दछौं ।

१. परिचालित परियोजनातर्फः
१.१. सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ लक्ष्मीकुण्ड–ढोरपाटन सडक खण्ड निर्माण कार्य तत्काल सम्पन्न गराउनका लागि पहल गर्न माग गर्दछौं ।
१.२. ढोरपाटन बुर्तिबाङ प्राथमिक अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतीका लागि पहल गर्न माग गर्दछौं ।

२. राष्ट्रिय गौरवको भावि परियोजनाहरुः
२.१. समृद्ध ढोरपाटनको विकासका लागि गुरु योजना तय गर्न एक अधिकार सम्पन्न ‘ढोरपाटन विकास समिति’ गठन गर्न माग गर्दछौं ।
२.२. उत्तरगंगा जलाशय जलविद्युत ८२५ मेघावाट परियोजना बारे यथार्थ र भ्रम बारे पहल गर्न माग गर्दछौं ।
२.३. ढोरपाटन उपत्यकामा ‘हाइअल्ट्यूच्यूट स्पोर्टस स्टुडियम’ बनाउनका लागि पहल गर्न माग गर्दछौं ।

३. बैकल्पिक मध्यपहाडी लोकमार्गः
(क) मध्यपहाडी लोकमार्ग अन्तर्गत गल्कोट आँगाखेत–पाण्डवखानी–रमुवा–बडिगाड गाउँपालिकाको खोलाखर्कसम्म ट्रयाक खोलि सकिएको छ । त्यहाँदेखि ढोरपाटन–४ लुकुरबन जोड्न २५ किलोमिटर बाँकी रहेकाले बाटो जोड्न माग गर्दछौं । जसले हालै सञ्चालनमा आएको मुस्ताङ कोराला नाकाका लागि ५० किलो मिटर फरक पार्दछ । जसले लुम्बिनीको उपल्लो जिल्लालाई समेत सहज हुने माग गर्दछौं ।
(ख) बेनी–दरबाङ–लामेला तमानखोला सडक जोडिएकाले स्तर उन्नतीका लागि पहल गर्न माग गर्दछौं । जुन बाटोले लामेलाबाट तमानखोलाको थासपुरी जोड्न ५ किलोमिटर मात्रै बाँकी छ । जसले खुंखानी–बोंगखानी–ढोपाटन उपत्यका गुर्जाखानी जोड्नेछ ।
(ग) बेनी–दरबाङ म्याग्दी किटेनीसम्म ट्रयाक खोलिएको छ । ढोरपाटन–४ फलामखानी जोड्न ३५ किलोमिटर बाँकी छ । म्याग्दी जिल्लोको ओखरबोट तामाखानीलाई समेत जोड्ने छ । जसले कोरोला नाकाबाट मध्यपहाडी लोकमार्गको बैकल्पिक रुपमा स्थापित हुने भएकाले यो माग गरिएको छ ।
(घ) कोरोला–बेनी–दरबाङ–मुना हुँदै उपल्लो जलजला जोड्न १५ किलोमिटर बाँकी रहेको छ । उपल्लो जलजला ढोरपाटन उत्पयकाको शिर भएकाले उक्त ट्रयाक तत्काल खोल्न माग गर्दछौं । उक्त मार्गले रुकुम तकसेरा जोड्न ७ किलोमिटर मात्रै बाँकी रहेको छ । जसले डोल्पा जिल्ला समेत जोड्ने छ ।
(ङ) ढोरपाटन नगरपालिकाका वडा नं. १, २ र ३ का जनजीवनलाई सहज जोड्ने सडक बुर्तिबाङ– भपरेटा–पोखरीधारा–भ्याँलखर्क–रिनाम–बिस्मोर–पुर्कोट–छरछरे सडक स्तरोन्नती गरी चाँचलघाटमा मोटरेबल पुल तत्काल निर्माणका लागि पहल गर्न माग गर्दछौं । त्यसै गरी वडा नं. ५ अस्तु ओदारको अलपत्र मोटरेबल पुल तत्काल निर्माण सम्पन्न गर्न र एकबाले पुल निर्माणका लागि पहल गर्न माग गर्दछौं ।
४. ढोरपाटन, निसी, तमानखोलामा उत्पादित दैनिक उपभोग्य वस्तु चिस्यानका लागि तीनैवटा पालिकालाई केन्द्र पर्ने गरी चिस्यान केन्द्र स्थापित तत्काल गरिनु पर्ने ।
५. २२ खानीहरु फलाम, तामाखानी परम्परागत रुपमा सञ्चालन हुँदाहुँदै राज्यको असहयोगबाट बन्द भएका छन् । अत्याधुनिक तवरबाट ती खानीहरु सञ्चालनका लागि पहल गर्न माग गर्दछौं । साथै यस क्षेत्रमा गुणस्तरीय र असंख्य ढुंगा खानी रहेकाले टायलको ठुला उद्योग सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सामुदायिक वन र संघीय ऐन बाधक भएकाले तत्काल संशोधनका लागि पहल गर्न माग गर्दछौं ।
६. वन संरक्षण ऐनका कारण ढोरपाटन शिकार आरक्ष र आरक्ष वरपर रहेका स्थानीयबीच समधुर सम्बन्ध हुन सकेको छैन । तसर्थ आरक्ष र स्थानीयबीच समस्या समाधान हुनुपर्ने छ । त्यसका लागि राष्ट्रिय रुपमै पहल गर्न माग गर्दछौं ।
धन्यवाद !

२० मङ्सिर, २०८० ।

…………………….. ……………………….
देवी प्रकाश भट्टचन / गणेश कुमार थापा मगर
सदस्य / अध्यक्ष
प्रतिनिधि सभा / नेकपा (एमाले)
नगर कमिटी, ढोरपाटन नगरपालिका
बुर्तिबाङ, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->