बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतको महाशिला गाउँपालिकामा अस्पताल

पर्वतको महाशिला गाउँपालिकामा अस्पताल


  • संजय रेग्मी
  • पुष ५ २०८०, बिहिबार

पर्वत/ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्रसमेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउन स्वीकृति मिलेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयबाट डीपीआर रिभ्यू भइ काम अगाडि बढाउन अनुमति आएको छ ।

‘डीपीआर रिभ्यूको काम सकिएपछि अरू काम गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति र अर्थ मन्त्रालयबाट स्रोत समर्थन प्राप्त भएको छ । भवन निर्माणको लागि जग्गा दिने सम्पूर्ण जग्गादाता प्रति उच्च सम्मान प्रकट गर्दछौँ’, प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘गाउँपालिकाका वर्तमान जनप्रतिनिधि र निवर्तमान जनप्रतिनिधिज्यूहरूको अथक मिहिनेतले अब गाउँपालिकावासीले गाउँमै शय्या सहितको उपचार सेवा पाउने भएका छन् ।’

जिल्लाको सबैभन्दा ठूलो अस्पताल पर्वत अस्पताल रहेको र त्यो दक्षिणी क्षेत्रबाट टाढा रहेकोले अब बन्ने अस्पताल दक्षिणी क्षेत्रको सबैभन्दा ठुलो अस्पताल बन्ने उनको भनाइ छ । बिहादी र पैयुँ गाउँपालिकामा अस्पताल रहेको भए पनि तिनीहरूको शय्या क्षमता थोरै रहेकोले लुँखुदेउरालीमा बन्ने अस्पतालबाट जिल्लाको तीन वटा पालिकाका नागरिकलाई सुविधा पुग्ने छ । लुँखुदेउराली फलेवास नगरपालिकाको कुर्घा र आसपासको क्षेत्रका लागि पनि नजिक हुने भएकाले फलेवासका नागरिकहरू पनि लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत पराजुली बताउँछन् ।

करिब ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरू सहित आधुनिक सुविधाका उपकरणहरू राखिने छ । शवगृह, चमेना, यातायात पार्किङलगायतका भौतिक संरचना निर्माण गर्न धेरै जमिन चाहिने भएकाले स्थानीय ११ जना दाताहरूले जग्गा दान गरेपछि अस्पताल बनाउन सकिने भएको हो । अस्पताल रहने ठाउँको केही जमिन भने गाउँपालिकाकै स्वामित्वमा रहेको छ । अस्पताल बहुबर्षिय योजना अन्तर्गत निर्माण हुने भएकोले काम थालिएपछि बजेट आउँदै जाने छ ।

लामो समयदेखि मन्त्रालयमा पुगेर अड्किएको काम हालै आएर फुकुवा हुँदा गाउँपालिकावासीले राहतको श्वास फेरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल बताउँछन् । महाशिलामा शैय्यासहितको अस्पताल नहुँदा त्यहाँका नागरिकहरू कास्कीको पोखरा, स्याङ्जाको वालिङ र सदरमुकाम कुश्मा बजारमा धाउन बाध्य रहँदै आएका छन् । बाटोको सहज सुविधा भए पनि लामो दूरीको यात्रा गरेर आउँदा बिरामीलाई समस्या हुँदै आएकोमा अब अस्पताल बनेपछि धेरै पैसा खर्च गरेर उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।

स्थानीय तहहरूमा निर्माणाधीन ५, १० र १५ शैय्याका आधारभूत अस्पतालको निर्माणको क्रममा महाशिलामा यो अस्पताल निर्माण हुन लागेको हो । यस्तै खालका १५ शय्या क्षमताका अस्पताल कञ्चनपुरको बेदकोट नगरपालिका, सिराहाको सुखीपुर नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, महोत्तरीको मटिहानी नगरपालिका, मोरङको केराबारी गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका, दैलेखको महाबू गाउँपालिका र गुल्मीको मालिका गाउँपालिकामा पनि निर्माण हुँदै छन् ।

आधारभूत अस्पतालको ‘डिजाइन रिभ्यू’ भएपछि स्वास्थ्य मन्त्रालयले स्वीकृत लागतको परिधिभित्र खरिद प्रक्रिया अगाडि बढाउन अनुमति दिएपछि मन्त्रालयका सचिव स्तरको गत पुस २ गतेको निर्णय अनुसार ती अस्पतालमा काम अगाडि बढाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->