बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङका दन्ते कथाको लिखित दस्तावेज

बागलुङका दन्ते कथाको लिखित दस्तावेज


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८०, शनिबार

बागलुङ/ हाम्रो समाजमा प्रसस्त दन्ते कथाहरु छन् । ती कथाहरु जसले सम्झेर बतायो त्यतिमै सिमित हुने गथ्र्यो । पछिल्लो समय बागलुङका कतिपय दन्ते कथाहरु पुस्तक आकारमा प्रकाशित भएको छ ।

तीन सय बर्षअघि बसाइ सरेर आएका नेवार समुदायको परम्पराको कथादेखि बागलुङका महत्वपूर्ण स्थान, पर्यटकीय र धार्मिक गन्तव्यहरुको दन्ते कथालाई पुस्तकमा उतारिएको हो । नेवारहरुले मनाउने हनुमान नाँच, जोगी नाँच लगायतका संस्कृतिलाई पनि पुस्तकमा उतारिएको हो । बिद्यामन्दिर पुस्तकालयले रिड नेपालको आयोजनामा गत साउनमा गरेको तीन दिने गोष्ठीबाट ती कथाहरु लिपिबद्ध बनेका हुन् । पुस्तकमा एकदर्जन कथालाई समावेश गरिएको छ ।

व्यवसाय गर्दै आएका बागलुङका नेवारले अनौठा संस्कृतिसँगै लिएर आएका थिए । ती संस्कृति अहिले उपत्यकामा देख्न पाईदैन । तर बागलुङमा सुरक्षित छन् । हनुमान नाँच र जोगी नाँच त्यसका उदाहरण हुन् । त्यति मात्र हैन ती नेवारले अहिले पनि बागलुङमा दर्जनबढी नाच र संस्कृति बचाएर राखेका छन् । कटुवाल जात्रा, बाउसे जात्रा, रोपाई जात्रा, लाखे जात्रा, बाघजात्रा लगायतका धेरै संस्कृति बचाइएको हो ।

बागलुङकै मोहनमान गुभाजुले बुट्टेनली बनाउने गर्थे । निगालोको नलीमा राजा महाराजाको चित्र कोरिएकोलाई बुट्टेनली भनिन्छ । अहिले यस्तो बुट्टेनली बनाउने बसन्तजंग राजभण्डारी मात्रै छन् । बागलुङ बजार नजिकै कालीगण्डकी नदी किनारमा निरयघाट छ । पहिला बुढापाका बसेर सामाजिक निर्णय गर्ने भएकोले यो घाटको नाउँ निरयघाट बनेको किंबदन्ती छ । यहीं नजिकै सती ढुंगा पनि छ । सती गएकी युवती भाग्दा मलामीले ढुंगाले हानेर मारेको स्मरणमा सती ढुंगाको नाम रहेको ८० बर्षिय देबबहादुर श्रेष्ठ बताउँछन् ।

बागलुङकै काठेखोला गाउँपालिका–७ रेशमा ओदाने डाँडा छ । यो डाँडामा अजंगको ओदान छ । यो मानिसले बनाएको होइन । बरु चट्याङ पर्दा झरेको विश्वासले अहिले पनि पूजा गरिन्छ । बेलाबेला यो ओदानले ठाउँ सरेको स्थानीय बताउँछन् ।

बागलुङमै मरेपिपल भन्ने स्थान छ । मर्नै लागेका वृद्दलाई लगेर यो पिपलको रुखमुनी राख्दा धेरैलाई निको भएको विश्वासले मरेपिपलको महत्व छ । बिसं १५०० ताका पाल्पाका राजा मणीमुकुन्द सेनले छोरी विश्रवालाई पर्वतका राजा प्रतापीनारायण मल्लसँग विवाह गर्दा देवीको मुर्ति दाइजो दिएका थिए । दाइजोसहित डोली बोकेर आउनेहरुले यहाँ आइपुगेपछि डोली उचाल्न सकेनन् । दाइजोमा ल्याइएकी देवीले आँफू यहीं बस्ने भन्ने आकासबाणी गरेपछि स्थापित गरेर कालीका मन्दिर बनाइएको किंवदन्ती छ । कालीका मन्दिर अहिले पनि धार्मिक पर्यटकीय गन्तव्यको रुपमा यहीं अबस्थित छ ।

यस्ता कथा समावेश गरिएको ‘बागलुङको कथा’ पुस्तक आकारमा प्रकाशित भएको हो । बिद्यामन्दिर पुस्तकालय र रिड नेपालले यो पुस्तक प्रकाशित गरेको हो । गत साउनमा तीन दिनसम्म झण्डै १ सय बुढापाका सहभागि भएको ‘बाजेबज्यैका कथा, मेरो चित्र’ कार्यक्रममा सहभागि जेष्ठ नागरिकले भनेको दन्ते कथालाई पुस्तक आकार दिइएको पुस्तकालयका अध्यक्ष राम थापा अबिरलले बताए । कथा सुन्न बसेका बालबालिकाले कोरेका चित्र पनि पुस्तकमा समावेश गरिएको हो ।

बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती बज्यैको कथा पनि यहाँ समावेश छ । सत्यवतीसँग कराएर मागेपछि वर पाइने विश्वास यहाँका मानिसमा छ । धेरै अघि एक किसानले आफ्नो गोठमा धेरै गाई होउन् भनेर माग्दा पुगेको थियो । तर मागेपछि पूजा नगरी हिंड्दा गाईको बाच्छी पोखरीमा डुब्यो । उक्त पोखरीमा तीनवटा बाँस गाँस्दा पनि जमिन नभेटिएको कथा छ । त्यसपछि गोठालाहरुले हरेक बर्ष यो पोखरीमा पुगेर सत्यवतीको पूजा गर्न थालेका थिए । हरेक बर्ष धान्यपूर्णिमामा भक्तजनहरु यहाँ पुगेर सत्यवतिको पूजा गर्दै बर माग्छन् । त्यसपछि पोखरीको पानी घटेको किंवदन्ती छ ।

बागलुङकै रुद्रे पिपलसहित यहाँका रत्नहरुको समेत पुस्तकमा चर्चा छ । आदिकवी भानुभक्त आचार्यले यहाँका बिरशाली पन्तसँग भाषा सिकेको कथा, मानवताबादी नेता भगत सर्वजित विश्वकर्मा, सहिद थिरबम मल्ल, भिक्टोरिया क्रस पाउने लालबहादुर थापा र कुलबहादुर थापाको समेत पुराना कथा लेखिएको छ । बागलुङमा हाल निर्माण भएको शालीग्राम संग्राहलय, कालीगण्डकी नदीको महत्व समेत यहाँ उल्लेख छ । पुस्तकमा उल्लेखित अधिकांस कथाहरु सत्यमा आधारित भएको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक दिनबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->