बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नारायण मा.वि.ले उचाल्यो कुश्माको राष्ट्रपति रनिङ शिल्ड

नारायण मा.वि.ले उचाल्यो कुश्माको राष्ट्रपति रनिङ शिल्ड


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८०, शुक्रबार

पर्वत / जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेको छ ।

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विजेता बनेको नारायण मा.वि.ले गत वर्षको तुलनामा स्वर्ण पदकको सङ्ख्या अझ बढाउँदै यस पटक पनि शिल्ड उचालेको हो । अघिल्लो वर्ष १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल २७ पदक जितेकोमा यस वर्षको दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल ३८ पदक नारायण मा.वि.ले जितेको छ ।

प्रतियोगितामा कुश्मा नगरपालिका–५ मा रहेको पर्वत गुरुकुल एकेडेमी दोस्रो स्थानमा आएको छ। यसका लागि एकेडेमीलाई ९ स्वर्ण, ६ रजत र ५ कास्य गरी २० पदक प्राप्त भएका छन्। एथ्लेटीक्सतर्फ १ मा स्वर्ण हात पारेको विद्यालयले बाँकी ८ स्वर्ण कराँते र तेक्वान्दोबाट मात्रै प्राप्त गरेको हो। तेस्रो स्थानमा कुश्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालय आएको छ । पर्वत गुरुकुल एकेडेमी र शिवालय मा.वि.को स्वर्ण पदकमा बराबरी भएपछि दोस्रो र तेस्रो स्थानको निर्णय रजत पदकबाट भएको हो । जसमा शिवालयले १४ रजत र ११ कास्य पाएको छ। पहिलो संस्करणमा ६ स्वर्ण, १० रजत र छ कास्य गरी २२ पदक जितेको शिवालयले स्वर्ण सहित पदक सङ्ख्या ३४ पु¥याउँदा पनि तेस्रो स्थानमा नै चित्त बुझाउनु परेको छ ।

अघिल्लो वर्षको वर्ष दोस्रो स्थानमा रहेको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय यस पटक सान्त्वना स्थानमा पुगेको छ । गत वर्ष ७ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १४ पदक जितेको नमुनाले यस पटक ४ स्वर्ण, ५ रजत र ७ कास्य जितेको छ ।

विजेता बनेको नारायण मा.वि.ले गत वर्षको रनिङ शिल्ड यस वर्ष पनि आफ्नो पक्षमा पार्दै प्रथम ट्रफी पनि उचालेको छ । दोस्रो र तेस्रो बनेका विद्यालयले पनि ट्रफी पाएका छन् । पहिलो, दोस्रो र तेस्रो बनेका विद्यालयहरूलाई कुश्मा नगरपालिकाले नगद पुरस्कार स्वरूप क्रमशः ५१ हजार १ सय ११, ३१ हजार १ सय ११, २१ हजार १ सय ११ र ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

सहभागीमध्ये आइबल एकेडेमीले १ स्वर्ण, जनता सुदर्शन मा.वि.ले २ स्वर्ण, सूर्यप्रकाश मा.वि.ले १ स्वर्ण, पूर्णेश्वर मा.वि.ले २ स्वर्ण र पञ्चकोशीले १ स्वर्ण हात पारेका छन् । सहभागीमध्ये ९ वटा विद्यालयले स्वर्ण पदक पाउन सकेनन्। पुस ११ र १२ गते कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष प्रथम राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने बेलामा रनिङ शिल्डमा तीन पटकसम्म लगातार पहिलो हुने विद्यालयलाई शिल्डको स्वामित्व सहित नगद पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ । यो निर्णय अनुसारको पुरस्कार प्राप्त गर्नका लागि आगामी वर्ष हुने तेस्रो राष्ट्रपति रनिङ शिल्ड पनि जित्नै पर्ने दबाबमा नारायण माध्यमिक विद्यालय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->