पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकाले जितेको छ ।
शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र÷छात्रातर्फ भलिबल, कबड्डी, एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर लम्बाइको दौड, रिले दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, सटफुट, विभिन्न तौल समूहका कराँते र तेक्वान्दो खेलहरू भएका थिए ।
जसबाट कुश्मा नगरपालिकाले सबैभन्दा बढी २५ स्वर्ण, १० रजत र १५ कास्य गरी कुल ५० पदक हात पार्दै अघिल्लो वर्षको विजयी यात्रालाई निरन्तरता दिएको हो । जितसँगै अघिल्लो वर्ष प्राप्त गरेको ‘रनिङ शिल्ड’ यस वर्ष पनि कुश्मा नगरपालिकाले नै राख्ने भएको छ ।
जुन स्थानीय तहले सबैभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दछ सोही स्थानीय तहले ‘रनिङ शिल्ड’ लगेर राख्न पाउँछ । सोही अनुसार कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, शिक्षा अधिकृत दीपक सुवेदी, अर्जुन पौडेल, नगरपालिकाको शिक्षक र विद्यार्थीहरूले शिल्ड तथा ट्रफी उचालेका हुन् ।
यस्तै प्रतियोगितामा नौ स्वर्ण, आठ रजत र २१ कास्य गरी कुल ३८ पदक सहित मोदी गाउँपालिका दोस्रो स्थानमा आएको छ भने पाँच स्वर्ण, आठ रजत र तीन कास्य गरी कुल १६ पदक सहित पैयुँ गाउँपालिका तेस्रो स्थानमा आएको छ । अघिल्लो वर्षको तुलनामा नतिजा खस्किएको फलेवास नगरपालिकाले दुई स्वर्ण, आठ रजत र १४ कास्य पदक पाएको छ ।
बिहादी गाउँपालिकाले तीन स्वर्ण, चार रजत र सात कास्य, जलजला गाउाँलिकाले चार रजत र तीन कास्य तथा महाशिला गाउँपालिकाले पाँच स्वर्ण, दुई रजत र चार कास्य प्राप्त गरेको छ ।
यस वर्षको खेलमा विभिन्न स्थानीय तहहरूबाट नयाँ र राम्रो प्रदर्शन रहेका खेलाडीहरू पाइएको र अब प्रदेश स्तरमा प्रतिस्पर्धा गर्नको लागि उनीहरूको छनोट प्रक्रिया सुरु गरिएको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले बताए ।
‘रनिङ शिल्ड’ को समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले आफूले पर्वतमा राम्रो खेल मैदान निर्माणका लागि प्रदेश सभामा सिफारिस गरिएको बताउँदै खेल शिक्षा र अनुशासन दुवै भएको बताए ।
यस पटकको ‘राष्ट्रपति रनिङ शिल्ड’ भएको कुश्मा नगरपालिका–५ बडागाउँको खेल मैदानमा ‘हेल्थ डेस्क’ को अभाव हुँदा खेलाडीहरू समस्यामा परेको देखिन्थ्यो । विभिन्न खेलमा घाइते भएका तथा बेहोस भएका खेलाडीहरूलाई पर्वत अस्पतालसम्म लैजानको लागि सम्बन्धित पालिकाका प्रतिनिधि तथा शिक्षकहरुले काँधमा नै बोकेर दौडिरहेको देखिनुले विद्यार्थीको स्वास्थ्यप्रति सरोकारवालाहरूको चासो कम भएको गुनासो खेल मैदानमा थियो ।
यसबारेमा कुरा गर्दा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष गुरुङले पर्वत अस्पतालका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेन्ट कुराकानी गर्दासमेत स्वास्थ्य सेवा खेल मैदानमा नै स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको जिकिर गरे ।
पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीले भने पूर्वसूचना नभइ आकस्मिक रूपमा स्वास्थ्यकर्मी माग्दा अस्पतालको सेवा नै प्रभावित हुने भएपछि खेल मैदानमा स्वास्थ्यकर्मी पठाउन नसकिएको बताए । फलेवास नगरपालिकाले भने खेलको दोस्रो दिनबाट स्वास्थ्यकर्मी उपलब्ध गराएपछि केही सहज भएको थियो ।





