बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत फलेवासका प्रदिप परियार बने काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

पर्वत फलेवासका प्रदिप परियार बने काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८०, शुक्रबार

पोखरा /देशकै कान्छो सहसचिव पर्वत फलेवासका प्रदिप परियार काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमाथि छानबिन भइरहेको छ।

नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो।

उनको छानबिन चलिरहँदा मेयर शाहले अधिकारीलाई बिदामा बस्न भनेका छन्। मन्त्रालय स्रोतका अनुसार अधिकारीको मधेसी आयोगमा सरुवा गरिएको छ।

‘उहाँ (परियार)सहित तीनजनाको नाम पनि सिफारिस भएको थियो,’ स्रोतले भन्यो, ‘युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो।’

परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए। महानगरपालिकाका सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा अधिकारीमाथि छानबिन पनि भइरहेको छ।

उक्त समितिलाई आगामी माघ १६ गतेसम्ममा प्रतिवेदन बुझाउने म्याद दिइएको छ।

परियार देशकै कान्छो सहसचिव हुन्। परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ। २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोकसेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन्। उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए।

परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए।  स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन्।

सोमबार स्वागत गर्दै महानगर
महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ। ‘उहाँलाई सोमबार कार्यालय बोलाउनेगरी तयारी अघि बढेको छ,’ मेयर शाहको सचिवालय स्रोतले भन्यो।

परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन्। एक कर्मचारीले भने, ‘मेयर साबजस्तै उत्साह बोकेको अधिकृत पाउँदा हामीलाई पनि काम गर्न सहज हुने आशा राखेका छौँ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->