पर्वत/ आजभोलि उच्च रक्तचापको समस्या भएका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बर्षौँ पहिलेसम्म अभावकै कारण नेपालीको खानपानको अवस्था कमजोर थियो। एक थरी तरकारीमै झोलको मात्रा बढाएर खाना खाने चलन थियो । तर आजभोलि खाना खाने बेलामा दाल, तरकारी, अचार, चटनी, मासु लगायतका परिकारहरू बिहान बेलुकै प्रयोग हुने गरेका छन् । यो अवस्थाले हरेक व्यक्तिमा नुनको मात्रा आवश्यकता भन्दा बढी खपत भइरहेको छ ।
अर्कोतर्फ त्यही नुनमा आयोडिनको मात्रा धेरै हुँदै थप स्वास्थ्य समस्या आउन सक्ने जोखिममा नेपालीहरू रहेको समाचारहरू पनि आइरहेका छन् । तर नेपालमै यस्ता ठाउँ छन् जहाँ एक किलो ढिके नुनका लागि पनि घण्टौँको यात्रा र पर्खाइमा रहनुपरेको छ । नुनमा राखिएको आयोडिन कतै बढी हुँदै गइरहेको छ त कतै आयोडिनकै अभावले गम्भीर स्वास्थ्य समस्याहरू भोग्नुपर्ने बाध्यता कायमै छ ।
यही परिवेशमा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला नुनको प्रयोगका बारेमा सचेत हुनुपर्ने बताउँछन् । नुनको अभाव र अधिक प्रयोग दुवै अवस्थामा गम्भीर खालका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकोले आफ्नो शारीरिक अवस्थाको बारेमा स्वास्थ्य परीक्षण गरेर मात्रै नुनको मात्रा अड्कल्नुपर्ने उनको सुझाव छ ।
‘फेब्रुअरी महिना आयोडिन महिना, आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने महिना’ का रूपमा ‘फेब्रुअरी १, २०२४’ लाई लिएर बिहीबार आयोजित कार्यक्रम आयोडिनको बारेमा बोल्दै उनले यस्तो बताएका हुन् । शरीरलाई नभई नहुने सूक्ष्म पोषक ‘आयोडिन’ दैनिक रूपमा आवश्यक पर्ने खनिज पदार्थ रहेकोले यसको खपतमा ध्यान दिनुपर्ने डा. बास्तोलाले बताए । ‘थाइरोइड’ ग्रन्थिबाट ‘हर्मोन’ निकाल्न सहयोग गरेर व्यक्तिको शरीरलाई ठिक अवस्थामा राख्ने काम ‘आयोडिन’ ले गर्ने भएकोले खानामा नुनको मात्रामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
‘आयोडिन’ को कमीले गलगाँड, ‘हाइपरथाइरोडिज्म’, पढाइमा कमजोर, सुस्त मनस्थिति, कमजोर मानसिक क्षमता, गर्भ तुहिने, मृत बच्चा जन्मिन सक्ने तथा जन्मिएपछि पनि मृत्यु हुन सक्ने, गर्भमा नै बच्चाको दिमाग क्षतिग्रस्त अवस्थामा रहने लगायतका समस्या देखिने भएकाले शरीरलाई आवश्यकता पर्ने मात्रामा ‘आयोडिन’ को आपूर्ति हुनुपर्ने उनले बताए । शरीरमा ‘आयोडिन’ को कमी हुँदा निद्रा लाग्ने, शारीरिक विकास नहुने लगायतका समस्या देखिनुका साथै ‘थाइरोइड’ ग्रन्थिमा पनि समस्याहरू आउने डा. बास्तोलाको भनाई छ ।
‘नुन सेवन नगर्ने व्यक्ति सायदै होलान्, यही कारण नुनमा आयोडिन मिसाएर पठाएको हो । सबैले अनिवार्य प्रयोग गर्ने बस्तुमा आयोडिन राख्दा सबैमा आयोडिनको आपूर्ति पूरा हुन्छ । हामीले प्राकृतिक रूपमा खासै आयोडिन नपाउने भएकाले हामीले नुनको सेवनमा ध्यान दिनुपर्छ’, उनले भने, ‘आयोडिनको मात्रा पूरा गर्छु भनेर नुन धेरै खाँदा उच्च रक्तचापको समस्या आउँछ । फेरि नुन खाने दिन नै बाँकी नरहन सक्छ । फेरि प्रेसर बढ्न दिन्न भनेर नुन कम खाँदा आयोडिन नै पुग्दैन ।’ नेपालीले आयोडिनको मात्रा नुनबाट मात्रै पाउने भएकाले ‘नुन नै खान्न’ भन्न नहुने डा. बास्तोलाको सुझाव छ । मासुबाट पनि नुनको आपूर्ति हुने भए पनि त्यसमा ‘आयोडिन’ को मात्रा नहुने भएकाले ‘आयोडिन’ को स्रोत दुई बालबालिकाको चिन्ह रहेको प्याकेटको नुन भएको उनको भनाइ छ ।
नुनमा आयोडिनको मात्रा रक्षा गर्न नुनलाई सूर्यको सिधा प्रकाश परेको ठाउँमा भण्डारण गर्न नहुने, नुनको प्रयोगपछि बन्द भाँडोमा बिर्को लगाएर राख्नुपर्ने, तरकारी पकाउँदै सुरुमा नै नुन नहाल्ने लगायतका कार्य गर्नुपर्ने चिकित्सकहरूले सुझाए । नुनको अधिक प्रयोग भएमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोग लाग्ने तथा हृदयाघातको जोखिम हुने भएकाले शरीरमा ‘सोडियम’ मात्रा परीक्षण गरेर चिकित्सकको सुझाव अनुसार नुनको मात्रा निर्धारण हुन सक्ने उनीहरू बताउँछन् ।
नुनको असरबारे डराई कम सेवन गर्दा ‘आयोडिन’ को कमी हुन्छ। आयोडिन केही खानेकुरामा पाइने खनिज हो । ‘थाइरोइड हर्मोन’ बनाउन शरीरलाई ‘आयोडिन’ चाहिन्छ । यी ‘हर्मोन’हरूले शरीरको ‘मेटाबोलिजम’ र अन्य धेरै महत्त्वपूर्ण कार्यहरू नियन्त्रण गर्ने गर्छन् । गर्भावस्था र बाल्यकालमा हड्डी र मस्तिष्कको उचित विकासका लागि शरीरलाई ‘थाइरोइड हर्मोन’ हर्मोन पनि उत्तिकै आवश्यक हुने चिकित्सकहरूको सुझाव छ ।





