बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सकियो १० औँ ‘लाटोकोसेरो तथा हुचिल उत्सव’

सकियो १० औँ ‘लाटोकोसेरो तथा हुचिल उत्सव’


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८०, सोमबार

पोखरा/ लाटोकोसेरो तथा हँुचिल राति डर लाग्ने खालको आवाज निकाल्ने चरा हुन् । लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि । सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन् ।

संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ । जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति लोप भइसकेको अनुमान गरिएको छ । नेपालमा तराईदेखि हिमालसम्म पाइने गरेका छन् । साना प्रजातिलाई लाटोकोसेरो र ठुलालाई हुचिल, भुद्रुङ, हाप्सिलोलगायतका नामले चिन्ने गरिन्छ ।
यसले कृषक वा मानिसका लागि कुनै पनि बिगार नगर्ने भए पनि भूतको रूपमा हेरेर यो चरालाई मार्ने तथा लखेट्ने गरेको पाइएको छ ।

लाटोकोसेरोले मुसा, सर्प, भ्यागुता, खरायो, फट्याङ्ग्रा, छुचुन्द्रो, गँगटा, गँड्यौला, माछा, माउसुली, छेपारो, साना चरा, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, मलसाँप्रो, खरायो, बिरालो, न्याउरी मुसो लगायतको सिकार गर्छ ।

लाटोकोसेरोको एउटा परिवारले अण्डा पारेर चल्लालाई उँड्ने बनाउने बेलासम्मको करिब चार महिनाको अवधिमा झन्डै तीन हजारसम्म मुसा खाने गरेको भेटिएको छ । यो भनेको कृषकहरूको लागि ठूलो राहत हो । नेपालकै पनि विभिन्न ठाउँमा लाटोकोसेरो मारेर खेतमा झुन्ड्याउने गरेको पनि पाइन्छ । लाटोकोसेरोको प्वाँख मात्रै देखे पनि त्यो ठाउँमा त्यहाँ मुसा नजाने विश्वास गरिन्छ ।

तर,अन्न सखाप पार्ने मुसा नै खाइदिने लाटोकोसेरोको संख्या घट्दै गएको छ । घट्दो संख्यामा रहेको लाटोकोसेरोको संरक्षणमा समुदायलाई सचेत गराउनकै लागि पर्वत जिल्लाको जलजला गाउँपालिका–५ लेखफाँटको लोप्रेमा आयोजित १० औँ संस्करणको ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ सम्पन्न भएको छ ।

लाटोकोसेरो तथा हुचिलको अध्ययन र संरक्षणमा लागिरहेको ‘प्रकृतिका साथीहरू’ लगायतका संस्था र जलजला गाउँपालिकाको पनि आयोजनामा स्थानीय मालिका आधारभूत विद्यालयमा सञ्चालन भएको उत्सवमा सहभागी झन्डै तीन हजार जनालाई लाटोकोसेरो तथा हुचिलको महत्व र पर्यावरणमा यसको आवश्यकताको बारेमा जानकारी बाँड्दै उत्सवको १० औँ संस्करण पूरा भएको ‘प्रकृतिका साथीहरू’ का कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गरिएकोमा उद्देश्य अनुसार नै कृषक तथा आम नागरिकले लाटोकोसेरोको संरक्षणका लागि प्रतिबद्धता आएको उनको भनाइ छ ।

उत्सव आयोजना गर्नु पूर्व नै गाउँपालिकाका विभिन्न विद्यालयहरूमा पुगेर करिब एक हजार जना विद्यार्थीहरूलाई लाटोकोसेरोको महत्व, आवश्यकता, पर्यावरणमा यसको भूमिका, पक्षी अधिकारी, प्राकृतिक वातावरणको संरक्षण, मानव तथा पशुपक्षीबीचको द्वन्द्व व्यवस्थापनमा मानिसको भूमिकालगायतका विषयमा जानकारी दिइएको थियो । उत्सव आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले पनि उत्सव महत्वपूर्ण रहेको भन्दै आफूले पाएका जानकारीहरूले आफूलाई सन्तुष्ट भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->