बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यार्थीलाई कानून सिकाउँदै गण्डकी सरकार

विद्यार्थीलाई कानून सिकाउँदै गण्डकी सरकार


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८०, सोमबार

पर्वत/ जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरूले पाठ्यक्रममै रहेको विषयवस्तुलाई आइतबार फरक स्वादमा जान्न पाए । नेपालको संविधान, २०७२ मा रहेको मौलिक हकहरूदेखि देवानी (संहिता) ऐन, २०७४ तथा फौजदारी अभियोगहरूको बारेमा जान्ने मौका पाए ।

बालविवाह, बहुविवाह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बाल शोषण, लगायतका विषयवस्तु पाठ्यक्रममा समावेश छन् । विषय शिक्षकबाट यी विषय जान्ने मौका पाएका विद्यार्थीहरूले आइतबार भने गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको कानून तथा संवैधानिक मामिला महाशाखाका प्रमुख कानून सचिव शम्भुराज रेग्मीले अन्तरक्रिया गरे ।

विद्यार्थीहरुले आफ्नो र घर समुदायमा देख्दै र भोग्दै विभिन्न समस्याहरूको बारमा चासो राख्दा कानून सचिव रेग्मीले नेपालका विद्यामान कानूनी व्यवस्थाका बारेमा जानकारी गराउँदै समस्या समाधानमा विद्यार्थीको भूमिकाका बारेमा सिकाए । कानूनले वर्जित गरेका कुराहरू गर्दा आउने कानूनी परिमाण र कानूनी सचेतनाको अभावमा व्यक्तिबाट हुन सक्ने गैरकानूनी क्रियाकलापहरूको बारेमा कानून सचिवबाटै सुन्न पाउँदा विद्यार्थीले पनि खुबै चाख माने । जसमा कानून अधिकृतहरू श्रीप्रसाद तिवारी र नवीन पौडेलले पनि सहजीकरण गरे ।

गण्डकी प्रदेश सरकारले विद्यालय र समुदायमा कानूनी सचेतना फैलाएर भविष्यका देश हाँक्ने नागरिकलाई अहिलेबाट नै सचेत नागरिक तयार पार्ने प्रयास गरेको छ । जसअन्तर्गत चालु आर्थिक वर्षमा प्रदेशका ११ जिल्लामा नै पुगेर कानूनी सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । महाशाखाका अधिकृत माधव पौडेलका अनुसार गत आर्थिक वर्षमा पनि सञ्चालन गरिएको यो कार्यक्रमलाई प्रभावकारिताका आधारमा चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको हो ।

विद्यार्थीका माध्यमबाट सचेतना फैलाउनु दीर्घकालीन, तीव्र र प्रभावकारी हुने भएकोले प्रदेश सरकारले विद्यालय र समुदायमा नै पुगेर कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । बागलुङ र तनहुँमा सञ्चालन भइसकेको यो कार्यक्रमलाई सकेसम्म ११ वटै जिल्लामा लैजाने तयारी छ ।

‘विद्यार्थीहरूले अपराधदेखि मौलिक हकहरूको बारेमा थाहा पाउनुपर्छ । आफ्नो भविष्य निर्धारणका लागि किशोरावस्था महत्वपूर्ण उमेर भएकोले यो बेलामा विद्यार्थीको भूमिकाका बारेमा प्रदेश सरकारले सचेतना फैलाउन लागिरहेको हो,’ पौडेलले भने, ‘यही बेलाबाट उनीहरूमा समुदायप्रतिको भूमिका पनि बढ्दै गएको हुन्छ । आजैबाट ठीक र बेठीकका आधारमा व्यवहार र काम गर्न सिकेमा उनीहरू भोलिका लागि योग्य नागरिक बन्ने हुन् । हामी सकेसम्म प्रदेशका सबै जिल्लामा पुगेर यो कार्यक्रम सञ्चालन गर्ने छौँ ।’

सचेतना कार्यक्रममा सहभागी महाशाखाकी अधिकृत रोजी सापकोटाले वर्तमान कानूनी प्रावधान, घरेलु हिंसा, बाल तथा बहु विवाह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बाल शोषण, श्रम शोषण, यौन हिंसा, मानव बेचबिखन, जबरजस्ती करणीलगायत समाजमा अधिकांश भइरहने घटना र अभियुक्तका विरुद्धमा रहेका कानुनी प्रावधानको बारेमा सिकाइएको बताइन् । सचेतना कार्यक्रममा विद्यार्थीहरूले भोगेका समस्यालाई बुझेर आवश्यक परामर्श दिनुका साथै कुनै पनि प्रकारको हिंसा सहेर नबसी बोल्न सक्नुपर्छ भन्ने बारेमा पनि उनीहरूलाई बल प्रदान गरिएको सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->