बागलुङ/ पर्वतको कुश्मा बजारमा पनि संचालकहरुले सहकारीको रकम हिनामिना गरेका छन् । रकम हिनामिना गरेको आरोपमा कतिपय पक्राउ परेका छन् भने कतिपय फरार छन् ।
पछिल्लो समय वचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारमा रहेको ‘माता पाथिभरा सहकारी संस्था’का अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । पक्राउ परेका श्रेष्ठ पर्वतकै ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’का अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन् । बालगोपाल श्रेष्ठविरुद्ध २९ करोड रकम हिनामिनाको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी फरार छन् । हाल अष्ट्रेलिया पुगेर लुकेको पीडितले बताए ।
कुश्मा नगरपालिका वडा नं. १ की ५५ वर्षीया सकुन्तलाकुमारी श्रेष्ठको जाहेरीले बालगोपाल श्रेष्ठसहित २२ जनालाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । उनकै भाइ भने फरक सहकारी संस्थाको रकम हिनामिनामा पक्राउ परेका हुन् । किशोर अध्यक्ष रहेको सहकारीमा पनि ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताए । ‘अदालतबाट म्याद थप भैसकेको छ, अब मुद्दा दायर हुन्छ,’ केसीले भने, ‘छिटै अभियुक्तहरु पक्राउ पर्छन् ।’
पर्वतका तीन सहकारीमा ५० करोड बढी हिनामिना गरेको आरोपमा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । सबै सहकारीले रकमको हिनामिना गर्न व्यवस्थापन समितिको मिलेमतो, अध्यक्ष वा पदाधिकारीले आफूखुसी रकम लैजाने र सफ्टवेयर समेत दुरुपयोग गरेको पाइएको छ । त्यसबाहेक व्यक्तिगत रुपमा आफन्तको नाउँमा बिना तमसुक, बिना धितो रकम लगानी गरेको देखिएको हो । कतिपय नक्कली ऋणी बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् दुईवटा सहकारी संस्थाविरुद्ध अदालतमा मुद्दा दायर भैसकेको हो । ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’ का अध्यक्ष बालगोपाल श्रेष्ठ फरार छन् भने ‘ग्रामीण कृषि सहकारी संस्था’का अध्यक्ष लेखनाथ शर्मा पक्राउ परिसकेका छन् । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुगमनमा उनीहरुको गतिविधि फर्जी प्रकारको भेटिएको थियो । बचतकर्ताले पनि सहकारीमा समस्या आएको भन्दै गत पुसमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइहेको प्रहरी निरीक्षक केशव केसीले बताए ।
माता पाथिभराका ११ जनाविरुद्ध बचतकर्ताले दिएको जाहेरीमा भने अनुसन्धान पुरा भैनसकेको हो । ‘तीबाहेक अन्य व्यक्तिसमेत रकम हिनामिनामा मुछिएको पाइएपछि प्रहरीले सुक्ष्म अध्ययन र अनुसन्धान गरिरहेको छ,’ केसीले भने, ‘केही दिनमा अरु वास्तविकता खुल्नेछ ।’ प्रहरीले दैनिक सहकारी ठगीको क्षेत्रमा मात्रै अध्ययन र अनुसन्धान गरिरहन बाध्य भएको उनले बताए ।
सहकारीहरुले कर छली गरेर अवैधानिक लाभ लिने उद्देश्यले कृतिम खर्च लेखांकन समेत गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट आएका विज्ञ निर्मल गौतमले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सिस्टमबाट भौचर र कारोवार नै मेटाउने गरी गरेका क्रियाकलाप संगठित अपराधमा समेत सूचिकृत गर्न सकिने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले बताए । उनले भागेर विदेश गएकाहरुको हकमा पनि पक्राउ गर्न पहल भैरहेको बताए । ‘नेपालको नागरिक भागेको अवस्थामा रेडकर्नर नोटिसले काम गर्छ,’ उनले भने, ‘विदेशको नागरिकता लिएको देखियो भने सुपुर्दगी सन्धी कार्यान्वयन गर्न सकिन्छ ।’ आम बचतकर्ताको रकम संरक्षण गर्ने काममा राज्यलाई जागरुक बनाइरहेको उनले बताए ।
उनले संघ सरकार र प्रदेश सरकारबाट नियमन गर्ने सहकारीमा बढी समस्या आएको बताए । ‘संघको नियमन गरिने १ सय ३५ सहकारीमध्ये १७ वटामा समस्या देखियो,’ उनले भने, ‘उनीहरुले अर्बौ रकम ठगेका छन् ।’ स्थानीय तहले नियमन गर्ने सबालमा भने थोरै सहकारी समस्यामा परेको बताए । देशभरका ३२ हजार सहकारीमध्ये अहिले ५ सय सहकारी समस्याग्रस्त देखिएको उनले बताए । तीमध्ये कतिपय भने निस्कृय रहेको बताए ।





