पोखरा / उच्च शिक्षा हाम्रो लक्ष्य नारासहित क्रियाशिल तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमसम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वकृषिमन्त्री वेदबहादुर तमु (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार तथा राजनीतिज्ञ कास्की हुम तमु,स्व. घनबहादुर स्मृति पुरस्कारबाट सम्मानित भए ।
यस्तै लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, स्व. क्या. मिनबहादुर स्मृति पुरस्कार तथा कलाकार मनबहादुर तमु (माधव)लाई, लालशोभा उत्कृष्ट आमा अवार्डबाठ चितवन माडीका अनुपम तमुका आमा शान्तामाया तमु र उच्च शिक्षा पुरस्कारबाट गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।
यसरी नै“खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ सहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो । कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो ।
ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण पनि गरियो ।
प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राखेका थिए ।





