पोखरा / प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ ।
स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको मूूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिए ।
संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल पाँच लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको छ ।





