बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओजिला गायक भक्तराज औसत आयुभन्दा बढी बाँच्न सफल

ओजिला गायक भक्तराज औसत आयुभन्दा बढी बाँच्न सफल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

काठमाडौं / नेपाली सुगम संगीत क्षेत्रका ओजिला गायक भक्तराज आचार्यले भौतिक रूपमा संसार छाडे। ८२ वर्ष पुगेका उनी औसत नेपालीको आयुभन्दा बेसी नै बाँच्न सफल भए। पछिल्लो ३३ वर्ष चाहिँ निकै कष्टका साथ बाँचे। तर त्यसअघिको समयमा उनले मुलुकको गीत, संगीत, कला र साहित्यलाई हजारौं वर्षका लागि पुग्ने गुन लगाएका छन्।

नेपाली सुगम संगीतमा अरूसँग तुलनै नहुने उनको स्वर र संगीतको जुन जादु रह्यो, त्यसैबाट उनी अमर रहनेछन्। नेपाली भाषा, कला, संगीत र संस्कृति जीवित रहँदासम्म उनको नाम रहनेछ। ३० को दशकदेखि गायनमा सक्रिय रहेका उनले २०४६ सालसम्ममात्रै गाउन पाए। गीतहरूलाई संगीतको प्राण दिन पाए। तर पनि चार सय जति गीतमा उनको स्वर भरियो। उनको स्वरका गीतबिना नेपाली सुगम संगीतको प्रसँग अधुरो हुन्छ। त्यसो त गजल र भजनमा पनि उत्तिकै योगदान उनले दिएका छन्।

अकल्पनीय एउटा दुर्घटनामा नपरेको भए भक्तराजले संगीत क्षेत्रमा अझै धेरै योगदान पक्कै गर्न सक्ने थिए। २०४६ सालमा उनीमाथि गुन्डाहरूले जुन आक्रमण गरे, त्यसपछि थलिनु प¥यो। क्यान्सरका कारण जिब्रो काटेर फाल्नुप¥यो। कति विडम्बना जिब्रोबिना मानिस बोल्न पनि सक्दैन भने एकजना गायक जोसँग ओजिलो स्वर थियो, उसैको जिब्रो पनि काटियो। गाउन त के बोल्न पनि नसक्ने भए। तर, संगीत क्षेत्रमा उनले योगदान चाहिँ दुई पुत्रलाई मार्गदर्शन गरेर दिइरहे। सत्यराज र स्वरूपराज आचार्य उनका पुत्रहरूले बाबुको पदचाप पछ्याए र नेपाली सुगम संगीतको क्षेत्रमा होमे। कला, संगीतले मानवलाई र मानव समाजलाई राष्ट्रलाई धनी बनाएको हुन्छ।

संगीतका भक्त भक्तराजलाई सुगम संगीतका अलावा भक्तिसंगीत अर्थात् भजन गायकका रूपमा पनि सम्झना हुन्छ नै। राष्ट्रभक्तिपूर्ण गीतसंगीतमा पनि उनको योगदान उत्तिकै छ। जहाँ छन् बुद्धका आँखा… लगायत उनका राष्ट्रभक्तिपूर्ण गीतले नेपाली राष्ट्रिय भावनालाई बलियो बनाएको छ। संगीत भनेको साधना हो र एक किसिमको तपस्या। भक्तराज त्यसैको साधक र तपस्वी थिए। आधुनिकताको नाममा जुन खालका विकृति र विसंगति अचेल देखा परेको छ, त्यस्तो प्रवृत्तिबाट अछुतो थियो उनको संगीत। शास्त्रीय संगीतको अध्ययन गरेर त्यसको मर्म समात्दा नै उनले वास्तवमा गीतसंगीतलाई न्याय गर्न सकेका थिए भन्ने पाठ नयाँ पुस्ताका गीतसंगीतकर्मीले लिनुपर्छ। नेपाली संगीत आकाशमा भक्तराज सधैं चम्किलो ताराका रूपमा रहिरहनेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->