पर्वत/जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा खरबाट निर्माण गरिएका साना छाप्राहरूमा दनदनी आगो दन्किरहेको थियो । आगलागी भएकै वरपर ‘गुहार ! गुहार ! कोही हामीलाई बचाउ! हामी त मर्नै लागियो ऐया !’ चिच्याउँदै थिए ।
केही बेरमा नेपाली सेनाका ट्रकमा सिपाहीहरू पुग्छन्, आगोमा परेर चिच्याउँदै गरिरहेकाहरूको उद्धार गर्छन्, बोकेर लगेको पानी दन्किरहेको आगोमा फालेर केही बेरमा आगो नियन्त्रणमा लिन्छन् । नेपाली सेनासँगै पुगेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सिपाहीहरूले पनि आगोमा जलेका घाइतेहरूलाई एम्बुलेन्समा राखेर अस्पताल दौडाउँछन् । स्थलगत रूपमा उपलब्ध भएका स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरू प्राथमिक उपचार सहितको उद्धारमा सक्रिय हुन्छन् ।
यो गतिविधि क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा स्थानीयबासीहरुले नियालिरहेका हुन्छन् । दृश्यावलोकन गरिरहेकाहरूले पनि सुरक्षाकर्मीहरूले गरेको उद्धारको बारेमा जानून र त्यसरी नै उद्धार गर्न पनि सिकून् भन्ने उद्देश्य राखिएको थियो ।
नेपाली सेनाको पर्वतको कुश्मामा रहेको नयाँ रणभीम गुल्मको आयोजनामा गत फागुन १५ देखि १८ गतेसम्म सञ्चालन गरिएको ‘सामुदायिक विपद् प्रतिकार्य तालिम’को अन्तिम दिन आगलागी नियन्त्रणको बारेमा प्रयोगात्मक रूपमा देखाइएको रणभीम गुल्मका गुल्म पति सेनानी राजन पाण्डेले बताए ।
मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, सुरक्षा निकायका प्रमुखहरू क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, प्राध्यापक, जनप्रतिनिधि, लगायतको उपस्थितिमा आगलागी सम्बन्धी नमूना अभ्यासको प्रदर्शनी गरिएको हो ।
जोखिमपूर्ण अवस्थाहरूको न्यूनीकरण गर्न नेपाली सेना तथा अन्य निकाय सम्मिलित ‘सामुदायिक विपद् प्रतिकार्य’ तालिमले स्थानीय तहका सरोकारवाला निकायहरूलाई आ–आफ्नो जिम्मेवारी तथा दायित्व महसुस गराउने र विपद्को जोखिमबाट सुरक्षा दिलाउन ‘फस्र्ट रेस्पोन्डर’ को रूपमा सहयोग पु¥याएको पाण्डे बताउँछन् ।
मोदी गाउँपालिका तथा अन्तरगत वडाहरू, डिभिजन वन कार्यालय, क्याम्पस व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी र अन्य स्थानीय तहहरूसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चलेका कक्षामा विपद् व्यवस्थापनको अवधारणा र विपद् व्यवस्थापन÷विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका, उद्धार कार्यको दौरान प्रयोग हुने विभिन्न सामग्रीहरूको जानकारी तथा प्रयोग गर्ने तरिका, आगलागीको परिचय÷वर्गीकरण÷नियन्त्रणका सैद्धान्तिक विधि, आगलागी तथा चट्याङ्गमा उद्धार गर्दा प्रयोग हुने सामग्री, घाइते उठाउने र स्थानान्तरण गर्ने तरिका, घाइते बिरामीलाई प्राथमिक उपचारसम्बन्धी जानकारी, क्षति भएका मानवीय तथा भौतिक सामग्रीहरूको खोजलगायतका बारेमा सिकाइएको थियो ।





