बागलुङ/पर्वतको कुश्मामा रहेको तपाई हाम्रो सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यको २९ करोड रकम ठगी गरेर भागेका अध्यक्ष बालगोपाल श्रेष्ठलाइ प्रहरीले रेडकर्नर तयारी गरेको छ ।
पीडितको उजुरी, अदालतको पक्राउ पुर्जी र दोषीसमेत ठहर भैसकेको अबस्थामा उनीबिरुद्ध रेडकर्नर तयारी गरेको प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले बताए । रकम ठगेर फरार रहेका अध्यक्ष बालगोपाल श्रेष्ठ अष्ट्रेलिया पुगेको स्थानीयले बताए ।
पीडितको आग्रहपछि प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले रेडकर्नर प्रक्रिया थाल्ने बताए । पदमा रहेर पनि निर्णय प्रक्रियामा नरहेका, आफ्नै बचत रकम डुबेका शेयर सदस्यले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य र प्रहरी नायव उपरिक्षक खुमलाल भुषाललाई प्रक्रिया थालिदिन डेलीगेसन गएका थिए । उनीहरुले बिशेष साधारणसभा गरेर बचतकर्ताको रकम फिर्ताको प्रक्रिया थाल्ने समेत बताए ।
सहकारीबाट अध्यक्षले २९ करोड ठगी गरेको सहकारी रजिष्ट्रारको कार्यालयको तथ्यांक निकालेको छ । ठगीको बिगोसहित जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त मुद्दापछि पीडित शेयर सदस्य र बचतकर्ताले आफ्नो लगानी सुरक्षा गर्न उक्त पहल गरेको बताए ।
उनीहरुले बिशेष साधारणसभाका लागि शेयर सदस्यको बिस्तृत बिवरणका लागि आवस्यक नामाबली र कागजात चाहिने भएकोले प्रशासन गुहारेको बताए । ‘बहुमत शेयर सदस्यले बिशेष साधारणसभा बोलाउन खोज्नुभएको छ’ सहकारीका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘त्यसको कानूनी प्रक्रिया र प्रशासनको सहयोगको खोजी गरेका हौं ।’
बिदेशमा काम गर्दै आएका पौडेललाई अध्यक्ष श्रेष्ठले पदमा राखेका थिए । रकम हिनामिना गर्ने, गैरकानूनी रुपमा ऋण प्रवाह गर्नेजस्ता काममा उनले कुनै हस्ताक्षर नगरेकोले पौडेल धरौटीमा रिहाइ भएका छन् । उनले आफ्नै ९० लाखबढी रकम सहकारीमा बचत रहेको बताए । उनले सबै बचतकर्ताको रकम फिर्ता गर्ने तथा पीडितलाई न्याय दिने गरी सहकारीको बिशेष साधारणसभा गर्न खोजेको बताए ।
१ सय ४ जना मात्रै शेयर सदस्य रहेकोमा २२ जनाबिरुद्ध अदालतमा मुद्दा परेको छ । उनीहरु बाहेकका सबै शेयर सदस्य बिशेष साधारणसभाको सभासद बन्न पाउने कानूनी व्यवस्था छ । उनीहरुले तोकिएको समय सिमा राखेर बिशेष साधारणसभा माग गरेमा बैधानिक रुपमा साधारणसभा बस्न सक्ने सहकारी ऐनमा व्यवस्था छ । ‘कानूनले प्रतिवादी कायम नभएका शेयर सदस्यहरुले बिशेष साधारणसभा माग गर्न पाउँछन्’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘पीडितको राहतका लागि प्रशासनले सहयोग गर्छ ।’
प्रहरी नायव उपरिक्षक भुषालले सहकारी ठगी गरेर भागेका श्रेष्ठलाई प्रक्रिया पु¥याएर ‘डिफ्युजन नोटिस’ र रेडकर्नर नोटिस जारी गर्ने पहल भएको बताए ।
प्रदेश तहमा दर्ता भएकोले उक्त सहकारी संस्थाको कागजात नगरपालिकामा छैन । तर प्रारम्भिक अध्ययनमा सहकारी बिनियम पालना नगरेकोले यो परिस्थिति आएको कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले बताए । कुश्माकै माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रेष्ठकै भाइ किसोर श्रेष्ठ र सहकारीको रेकर्ड सिस्टम बिगारेर ऋण प्रवाह गर्न र डाटा मेटाउन भूमिका खेल्ने प्रतिमान पौडेल भने यस अघिनै पक्राउ परेका छन् ।
जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइ सकेको छ । अहिले सम्म कुश्माका ग्रामीण कृषि सहकारी संस्था, माता पाथीभरा बहुउद्धेश्यीय सहकारी संस्था र तपाइ हाम्रो सहकारी संस्थामा अध्यक्ष र केही संचालकको मिलेमतोमा ५५ करोड रुपैयाँ रकम ठगी भएको देखिएको प्रहरी निरीक्षक केशव केसीले बताए ।





