पोखरा / साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।
¥यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार समीपले सुरुमा नाम छाप्ने रहरमै साहित्यमा लागेको र अहिले लेखनलाई जिम्मेवारीका रूपमा स्विकारेको बताए ।
कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।





