बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी पीडितका उजुरीको चाङ

सहकारी पीडितका उजुरीको चाङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८०, बुधबार
?????????

बागलुङ/प्रदेश तह र जिल्ला तहमा दर्ता भएका सहकारीले रकम ठगी, बचत हिनामिना पारेका उजुरीले पर्वतको कुश्मा नगरपालिकाको सहकारी शाखामा चाङ लागेको छ ।
शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीहरुमा समस्या भएको बुझेर नगरपालिकाले सबै सहकारीलाई यथार्थ विवरण ल्याउन लगाएको छ । नगरभित्रका १ सय ५ सहकारीलाई पत्र पठाएर कागजात झिकाएको शाखाका प्रमुख ऋषिराम शर्माले बताए । कतिपय आएको कागजातमा पनि विवरणहरु स्पष्ट छैनन् ।

अध्यक्ष र पदाधिकारीले मनगणन्ते विवरण पठाएको भेटिएपछि कतिपयलाई सचेत बनाइएको छ । यथार्थ बिवरण पुनः माग गरिएको शर्माले बताए । ‘कतिपयले घुमाउरो भाषा प्रयोग गरेर छलछाम गरेको भेटियो,’ उनले भने, ‘स्पष्ट हुनेगरी कागजात र रेकर्ड ल्याउन भनेका छौं ।’ सहकारीको बिनियम पालना नभएकोले मुख्य समस्या आएको उनले टिप्पणी गरे । ‘आफन्तहरु पदाधिकारी र प्रबन्धक बनेको पनि देखियो, यो सहकारी बिनियम बिपरित छ’ उनले भने, ‘एकाघरका सदस्य समेत एउटै समितिको पदमा बसेका छन् ।’ आफन्तको भीड एउटै सहकारीमा बस्दा ठगी बढेको उनले बताए ।

पछिल्लो समय कुश्माका ३ सहकारीमा ५५ करोड ठगी आरोपमा अध्यक्ष र पदाधिकारी पक्राउ परेका छन् । केही फरार छन् । अदालतसम्म मुद्दा पुगेका तीनवटा सहकारीबाहेक थप ७ वटाको नगरपालिकामा उजुरी परेको शर्माले बताए । कसैले रकम हिनामिना भएको उजुरी गरेका छन् भने कसैले जथाभावी ऋण दिएको, असुलउपर नभएको, शेयर फिर्ता माग्दा नदिएको उजुरी लिएर आउने गरेका हुन् । चुवा व्यवसायिक कृषि सहकारी, शिवालय बहुउद्देश्यीय सहकारी, बैसाली सहकारी, नगरविकास सहकारी, मातृभूमि सहकारी र हिमालय खरेहा सहकारीका बचतकर्ता र शेयर सदस्यको उजुरीको चाङ लागेको हो ।

यसअघि तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेका छन् । उनीबिरुद्ध रेडकर्नरकै तयारी थालेको प्रहरी नायव उपरिक्षक खुललाल भुषालले बताए । त्यस्तै श्रेष्ठकै भाइ किसोर श्रेष्ठलाई माता पाथीभरा बहुउद्देश्यीय सहकारीमा ११ करोड ठगीको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । ग्रामीण कृषि सहकारीका अध्यक्ष लेखनाथ शर्मा सहितका पदाधिकारीलाई पनि अदालतको आदेशले पुर्पक्षमा पठाइएको छ । शर्माले १ करोड ९५ लाख हिनामिना गरेको आरोप छ ।

‘अहिलेसम्म ५५ करोडको बिगो दावीसहित अदालतले पदाधिकारीलाई थुना पठाउने आदेश दिएको हो,’ प्रहरी निरीक्षक केशव केसीले भने, ‘सबै फरारलाई पक्राउ गर्न सकियो भने बचतकर्ताको रकम फिर्ता गर्न सकिन्छ ।’ कतिपय शेयर सदस्यले विशेष साधारणसभा मार्फत पुनसंरचना गरेर जाने निधोमा पुगेको उनले बताए ।

अध्यक्षका आफन्त नै प्रमुख पदमा भएकोले ठगी भएको पीडितले गुनासो गरे । ‘रकम ठगेर भागेका बालगोपालका छोरी, ज्वाइँ, दिदी र भान्जीसमेत सहकारीको प्रमुख पदमा छन्’ तपाइ हाम्रो सहकारीका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘आफन्त राखेर सहकारी संचालन गर्दा यो दुर्दशा भयो ।’ पौडेलका अनुसार उजुरी परेको मातृभूमि सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ बालगोपालका ज्वाइँ हुन् । प्रबन्धक अञ्जली श्रेष्ठ भाञ्जी हुन् । दिदी बिन्दु र पत्नी सत्या पनि संचालकमा छिन् ।

दुईवटा सहकारीको अख्तियारमा समेत उजुरी परेको छ । उजुरी परेकाहरुको उपचार नखोजे दर्जनौंमा यस्तै समस्या थपिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद तिवारीले बताए । ‘समयमै नगरपालिकाले अनुगमन नगरेको भए दर्जनौं सहकारीमा समस्या आउने रहेछ,’ तिवारीले भने, ‘केही हदसम्म समस्या रोक्न सकिएको छ ।’ नगरपालिकाको वरिष्ठ अधिकृत डिलकुमारी शर्माको संयोजकतवमा गठित ५ सदस्यीय टोलीले समस्याग्रस्त सहकारीको अध्ययन, अनुगमन र मूल्यांकन गरिरहेको उनले बताए ।

बचतकर्तालाई अन्याय नपर्ने गरी फिर्ताका लागि ताकेता गर्ने, किस्ताबन्दीमा भएपनि रकम जुटाउने र वडा तहमा सहमति गराउने काम पनि भएको उनले बताए । हुनै नसक्नेहरु उजुरीमा परेर अदालतसम्म पुगेको उनले बताए । ‘नियतबस ठगी गरेकाहरु थुनामा पुगिसकेका छन्,’ उनले भने, ‘समस्या सुल्झाउन खोज्नेलाई साथ दिएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->