बागलुङ/बिद्यार्थी संख्या घटेपछि पर्वत सदरमुकामका दुइ सामुदायिक क्याम्पस एकीकरणको तयारी भएको छ । बैंक, सहकारी लागयतका संस्था एकीकरणको चर्चा भएपनि सामुदायिक क्याम्पस एकीकरणको यो अभियान नौलो हो ।
विश्वविद्यालय अनुदान आयोगले परीक्षा खर्च, प्राध्यापकको तलब र व्यवस्थापन खर्च घटाउन क्याम्पस मर्जको सुझाव दिएको छ । आयोगका सदस्य सचिव प्रा. डा. शंकर भण्डारीले ‘उच्च शिक्षाको गुणस्तर सुधार गर्न, प्रतिस्पर्धी जनशक्ती उत्पादन गर्न क्याम्पसहरु मर्ज गर्ने बेला आएको’ यसअघिनै बताएका छन् । सोही अनुसार पर्वतको गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पस एकीकरणको अभियानमा गएका हुन् ।
आयोगका अनुसार नेपालका १ सय ५० आंगिक क्याम्पसमध्ये २१ वटा क्यामपसमा १ सयभन्दा कम बिद्यार्थी भर्ना भएको तथ्यांक छ । त्यस्ता क्याम्पस मर्जमा जाने भए क्याम्पसलाई आयोगले सहयोग उपलब्ध गराउने सूचना नै जारी गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा यो बिषय उल्लेख भएकोले मर्ज अभियान थालिएको सामुदायिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोबिन्द पहाडीले बताए ।
‘२०४८ मा खुलेको गुप्तेश्वर र २०६७ सालमा खुलेको शिवालयले मर्ज गरेमा अन्य क्याम्पसलाई पनि सिकाइ हुनेछ’ पहाडीले भने, ‘त्यतिबेला बिद्यार्थीको चापले आवस्यकता थियो, अहिले मर्जमै जानुपर्ने भैसकेको छ ।’ हाल नेपालका २ सय १८ सामुदायिक, २१ आंगिक र ३ सय ४५ निजी कलेज मर्ज गर्नुपर्ने अबस्थामा पुगेको आयोगको तथ्यांक छ ।
पहाडीका अनुसार गुप्तेश्वरमा २ सय ६२ जना मात्रै बिद्यार्थी छन् । यहाँ ६ जना पूर्णकालिन, १० करार र २५ आंशिक शिक्षकलाई तलब खुवाउने बाध्यता छ । सामुदायिक क्याम्पस भएकोले बिद्यार्थी संख्या घट्दै गएपछि चन्दाको भरमा थेग्न मुस्किल भएको हो ।
सदरमुकाममै रहेको शिवालय बहुमुखी क्याम्पमा पनि २ सय ८१ बिद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ पनि २१ जना शिक्षकले पढाउँछन् । शिवालयले पनि कुश्मा बजारकै अभिभावकको भरमा चल्नुपर्ने बाध्यता छ । एउटै बजारमा रहेका दुवै क्याम्पसमा एकै प्रकृतिको पढाइ हुन्छ । गुप्तेश्वरमा व्यवस्थापन, मानविकी र शिक्षा संकायको स्नातक र व्यवस्थापनमा स्नातकोत्तर तथा शिवालयमा शिक्षा र व्यवस्थापन संकायका स्नातक कक्षा संचालित छन् । १० मीनेटको पैदल दुरीमाका यी दुवै क्याम्पस त्रिभूवन विश्वविद्यालयबाटै मान्यता प्राप्त हुन् ।
मर्जका लागि सामुदायिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोबिन्द पहाडीको संयोजकत्वमा गुप्तेश्वरका अध्यक्ष बसन्तकुमार कर्माचार्य र शिवालयका अध्यक्ष हरिओम शर्मा लामिछाने, क्याम्पस प्रमुखहरु सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको कार्यदलले आगामी शैक्षिक सत्र एउटै छानामुनी पढाउने काममा लागेको हो ।
त्रिविको गुणस्तर प्रत्यायान सुनिश्चितता (क्युएए) कार्यक्रममा गएर संकाय तथा बिषय थप गर्ने र सरकारी मान्यता प्राप्त आंगिक क्याम्पस बनाउने दुवै क्याम्पसका व्यवस्थापन समिति, प्राध्यापक तथा शिक्षक र अभिभावक सहमत भएका छन् ।
दुवै क्याम्पस मिलाएर व्यवस्थित आंगिक क्याम्पस बनाउने अभियान शुरु गरेको गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष बसन्तकुमार कर्माचार्यले बताए । ‘क्युएएमा जान कम्तिमा ३ सय बिद्यार्थी चाहिन्छ, त्यो पनि हामीलाई अप्ठ्यारो भयो, एकीकरण गर्दा संभव देखियो’ कर्माचार्यले भने, ‘समुदायको सहयोगको भरमा कति चलाउने ? अब सरकारले पनि दायित्व लिनुपर्छ ।’ त्यसका लागि आंगिक क्याम्पसका प्रकृया थालिने उनले बताए । अहिलेसम्म साबिकको धौलागिरि अञ्चल क्षेत्रमा बालुङको धौलागिरि बहुमुखी क्याम्पस मात्रै आंगिक छ ।
क्याम्पस मर्जका लागि १५ बुँदे कार्यक्रम तय गरिएको छ । ती कार्यक्रम पुरा गर्न सातवटा समिति समेत गठन भएका छन् । एकीकृत बिधान मस्यौदाका लागि अधिवक्ता भोलानाथ शर्मा संयोजक रहेको समितिलाई जिम्मा दिइएको छ । इतिहास लेखनका लागि कमलनाथ शर्मा, चन्दादाताको अभिलेख संकलन गर्न इन्द्रमान खत्रीलाई जिम्मा लगाइएको छ ।
त्यस्तै दुवैतर्फका जनशक्ती व्यवस्थापन तथा लेखाजोखा राख्नका लागि पृथ्वीनारायण शर्मालाई जिम्मा दिइएको छ । जिन्सी व्यवस्थापन गर्न मीनप्रसाद श्रेष्ठ, आर्थिक अभियान संचालन गर्न बिषमकुमार श्रेष्ठ तथा समुदाय सम्पर्क समन्वयका लागि बिष्णुप्रसाद नेवारलाई जिम्मा दिइएको उपाध्यायले जानकारी दिए ।





