शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मूर्तिहरुले बदलेको बागलुङको टेउवा

मूर्तिहरुले बदलेको बागलुङको टेउवा

मूर्तिहरुकै कारण बसाइँसराइको लागि खुट्टा उचालेकाहरु रोकिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८०, बुधबार

बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा रहेको मूर्तिकलामा पर्यटकको चहलपहल बढेको छ । सडकको सहज पहुँच बिस्तार भएको, मूर्तिलाई व्यवस्थित बनाइएको र खानेपानीको व्यवस्थापन गरेपछि यहाँ पर्यटक बढेका हुन् ।

यहाँ पुगेका पर्यटकलाई बस्ने र घुम्ने व्यवस्था मिलाइएको छ । जसका कारण बिद्यालयको शैक्षिक भ्रमण र अन्यको भ्रमण गन्तव्य टेउवा बन्न थालेको हो । केही समयअघि पोखराको टाइगर गु्रपले चौथो टाइगर कपको समीक्षासमेत टेउवामा रहेको मूर्तिकलामा पुगेर गरेको थियो । पोखराको पर्यटकीय क्षेत्रमा रमाएकाहरुले मूर्तिकला तस्वीर सामाजिक संजालमा राखेर पोष्ट गरेका थिए ।

नेपाल शिक्षक संघ र भूपू सैनिक संघ बागलुङले त टेउवास्थित मूर्तिकला पार्कमा पुगेर आफ्नो साधारणसभासमेत गरे । बडिगाड गाउँपालिका २ को त्रिभूवन माविले विद्यार्थीको शैक्षिक भ्रमण मूर्तिकला लगेको थियो ।

उनीहरुले अन्यत्र स्थान नपाएर भने ती कार्यक्रम गरेका होइनन् । मूर्तिकलाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुप लिन थालेको छ । मूर्तिकला घुम्ने, तस्वीर खिच्ने मनसायले कतिपय संस्थाले आफ्ना कार्यक्रम यहाँ लैजान थालेका छन् ।

लायन्स क्लबहरुको ३२५ जे को डिष्ट्रिक्ट क्याबिनेट बैठक समेत गलकोटमा सम्पन्न भयो । क्याबिनेटमा भाग लिन आएका देशभरका युवाहरु समेत टेउवाको भ्रमणमा निस्के । उनीहरु पुग्दा स्थानीय बासिन्दको घरघरमा चिया, खाजा र खाना बिक्री गर्न भ्याइनभ्याइ भएको स्थानीय झंकबहादुर बस्नेतले बताए ।

‘दैनिक घुम्न आउनेका लागि होटल तथा रेष्टुरेन्टको आवश्यकता भैसक्यो,’ बस्नेतले भने, ‘पर्यटकको चहलपहलले बसाइँ सरेर हिँड्नै लागेकाहरु रोकिएका छन् ।’ ५ वर्षअघि कुँदिएका मूर्ति हेर्न नै पर्यटकहरु गलकोट नगरपालिका–५ को टेउवा पुग्ने गरेका हुन् ।

२०७६ सालमा ललितकला क्याम्पस र गलकोट नगरपालिकाको अगुवाइमा कलाकार ओम खत्री र संविधानसभाका सदस्य पूर्णबहादुर राना सक्रिय भएर मूर्तिकला सम्पन्न भएको थियो । गलकोट नगरपालिकाले आर्थिक सहयोग समेत दिएपछि यहाँ २१ दिने मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । त्यहाँ नेपालसहित ११ देशका १५ कलाकारले ठूला ढुंगामा मूर्ति कुँदेका थिए । ती मुर्तीलाई टेउवाको डाँडामा स्थापना गरिएको छ ।

मूर्ति स्थापनापछि टेउवा पर्यटकीय गन्तव्य बनेको छ । जिल्लाकै अग्लोमध्येको एक घुम्टेलेकमा जाने बाटैमा पर्ने टेउवासम्म गलकोट नगरपालिकादेखिस्तरीय सडक बनाइएको छ । वडा नं. ५ को हरिचौरमा रहेको गलकोट दरबारदेखि टेउवा पुग्ने पदमार्ग बनेको छ । आवश्यक पूर्वाधार बनेपछि दैनिकजसो आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडा नं. ५ का अध्यक्ष पवन हमालले बताए ।

गतवर्ष गलकोट नगरपालिकाले ७ करोड खर्चेर टेउवा पुग्ने स्तरीय सडक बनाएको छ । मूर्तिको आसपास घेराबार लगाइएको छ । कौलेनी, श्रद्दाखेतहुँदै टेउवासम्म पुग्ने पदमार्ग पनि बनेको छ । यहाँ ठूला ट्यांकी निर्माण गरेर पर्यटकलाई सहज खानेपानीको व्यवस्थापनमा वडाले लगानी गरेको छ ।

गलकोट नगरपालिकाले टेउवा मूर्तिकलालाई आफ्नो गौरवको आयोजनाको रुपमा सूचीकृत गरेको छ । यहाँ पुग्ने सडक, घुम्टे पर्यटकीय क्षेत्रलाई थप व्यवस्थापन गर्ने लगायतका योजना पनि छन् । गतवर्ष घुम्टेका लागि आएको ८० लाख बजेट पर्यटन कार्यालयबाट फिर्ता हुँदा चाहेर पनि कतिपय संरचना बन्न नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

‘प्रदेशको बजेट आउँदै छ भनेर नगरको बजेट बिनियोजन गरेनौं तर बजेट फिर्ता भयो,’ गैरेले भने, ‘पर्यटकीय गन्तव्यका लागि घुम्टे नीति र कार्यक्रममा समावेश छ ।’ गत वर्ष प्राविधिक अभाव देखाएर पर्यटन कार्यालयले यहाँ कार्यक्रम गर्न नसकी बजेट फिर्ता भएको थियो ।

चालु वर्ष भने घुम्टे र टेउवाबाहेक गलकोट नगरपालिकाभित्र बतासे फूलबारी पार्क निर्माण, उदय रिघा बुद्ध बिहार पूर्वाधार निर्माण, बेदखोला ज्यामिरे भ्यूटावर पुग्ने पदमार्ग, रजारा चौतारी पोखरी तथा पैदल मार्ग निर्माण, निलुवा लेक पर्यटकीय मार्ग निर्माण र सिद्धथान टापु पदमार्ग समेत निर्माणाधीन छ । ती पूर्वाधारले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको गैरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->