सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

सोमवार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा पालिकाका अध्यक्ष थापाले अध्यक्ष कपको लोगो सार्वजनिक गरे ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८०, सोमबार

बागलुङ /  गाउँपालिका भित्रका खेलकुद, कला र साहित्यमा प्रतिभा पहिचान गर्न काठेखोला गाउँपालिकाले चैत २८ देखि अध्यक्ष कप प्रतियोगिता गर्ने भएको छ। दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा चैत्र २८ गतेदेखि बैशाख १ गतेसम्म भीमापोखराको अक्षेते बजारमा प्रतियोगिता संचालन हुनेछ ।

गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रतिभा पहिचान गर्ने उद्देश्यले अध्यक्ष कपको आयोजना गरिएको खेलकुद विकास समितिका संयोजक टिका संगम विकले जानकारी दिए ।

गाउँपालिकाभित्र रहेका खेलकुद, कला र साहित्यको प्रतिभा पहिचान हुने, पर्यटकीय क्षेत्रहरुको प्रचाप्रसार एवं प्रबद्र्धन गर्ने, खेलकुद, कला साहित्य र संगितको माध्यमबाट सभ्य संस्कृतियुक्त समुन्नत र विकसित पालिका बनाउनका लागि दोस्रो अध्यक्ष कपको आयोजना गरिएको विकले बताए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन र प्रदर्शन गर्ने जानकारी दिए । अध्यक्ष थापाले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्राहलयको प्रचारप्रसार गरिने बताए ।

सोमवार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा पालिकाका अध्यक्ष थापाले अध्यक्ष कपको लोगो सार्वजनिक गरे । प्रतियोगितामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा-२०८० (गायन प्रतियोगिता), दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान-२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका सांगीतिक प्रस्तुति हुनेछ ।
वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथमले रु.१ लाख, द्धितियले ६० हजार र तृतीयले ३० हजार नगद र शिल्ड प्राप्त गर्नेछन् ।

दोस्रो काठेखोला लोक तारा-२०८० (गायन प्रतियोगिता) तीन चरणमा संचालन गरिनेछ । पहिलो चरण र दोस्रो चरण भीमसेन माविको सभाहलमा संचालन हुने र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगितहरु वीच अक्षेते बजारमा संचालन गरिनेछ । लोकतारा विजेताले नगद रु. ३० हजार, फष्ट रनरअफले रु.२० हजार, सेकेन्ड रनरअपले रु.१० हजार प्राप्त गर्नेछन् ।

गजल प्रतियोगितामा प्रथम हुनेले नगद रु. १५ हजार, द्धितियले रु. १० हजार र तृतीयले रु.५ हजार प्राप्त गर्नेछन् । सामुहिक नृत्य प्रतियोगिताको प्रथमले नगद रु. २० हजार, द्धितियले रु.१५ हजार र तृतीयले रु.१० हजार प्राप्त गर्नेछन् । खुल्ला ताराखेल प्रतियोगिताको विजेताले नगद रु. ५० हजार र द्धितियले रु. ३० हजार पुरस्कार पाउने पालिकाले जनाएको छ ।
व्याडमिन्टन प्रतियोगिताको विजेताले नगद रु.१० हजार र द्धितियले रु. ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि गाउँपालिकाले रु. २० लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए । यसको लागि गाउँपालिकाको १३ औं गाउँसभाबाट रु. ५ लाख र १४ औं गाउँसभाबाट रु.१५ लाख गरी रु.२० लाख रकम विनियोजन गरिएको हो ।

कार्यक्रम संचालनको लागि गाउँपालिकाका प्रवक्ता तथा कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको संयोजकत्वमा ५ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयको सदस्यमा कृष्ण प्रसाद कँडेल, डिल बहादुर कार्की, बाबुराम भण्डारी र मनोज कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->