जापानमा काम गरिरहेका गलकोट नगरपालिका–६ का झप्परबहादुर बस्नेतले नगर अस्पतालमा आफ्ना आमाबाबुको स्मृतिमा ८ लाख खर्चेर मर्चरी च्याम्बर राखेका छन् । अस्पताललाई थप २ लाख पनि दिए । आफ्ना बाबुआमाालाई तत्काल उपचारमा लैजान नपाएको उनमा पीडा थियो । अहिले पनि गलकोटका युवा बिदेशमा छन् । बाबुआमाको मृत्यु भयो भने काजक्रिया गर्न फर्कन समय लाग्छ । त्यतिन्जेल शवहरु राख्न मिल्ने मर्चरी अस्पतालमा जडान गरिको छ । त्यसैले जापानबाटै उनले आफ्नै गाउँमा बनेको अस्पतालको सेवामा सहयोग गरे । उनले गरेको सहयोग देखेर गलकोट क्षेत्रका धेरै मानिसले उपचार र अन्य व्यवस्थापनमा सहयोग पुगोस् भनेर नगद र जिन्सीसमेत सहयोग गरेका छन् । यस्तै गलकोट समाज जापानको ३५ लाख सहयोगमा अस्पतालमा भिडियो एक्सरे मेसिन जडान गरिएको छ । अस्पताललाई सहयोग गर्ने दाताको फेहरिस्त लामै छ भन्छन् अस्पतालका प्रमुख डा. राजेश पौडेल ।
तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रलाई गलकोट नगरपालिकाले अस्पतालको रुपमा बिकास गर्ने लक्ष बनाएपछि गलकोट घर भई देश बिदेशमा बस्नेहरुले धमाधम सहयोग गर्दा अस्पताल सहजै संचालनमा आएको छ । अस्पतालमा दक्ष चिकित्सकको पनि व्यवस्थापन भैरहेको छ । पुरानो संरचनालाई नयाँ बनाउने, सेवालाई चुस्त पार्ने, बिरामी आउने जाने सडक सहज बनाउने जस्ता काममा नगरले अगुवाई गरेपछि स्थानीय बासिन्दाले हातमा हात मिलाएर यो अस्पताल अहिले गौरव गर्न लायक बनिसकेको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।
नगर अस्पतालकै रुपमा काम गर्न थालेको दुइ बर्ष मात्रै भयो । तर गलकोट नगर अस्पतालले सेवामा मात्र नभइ डिजिटल फड्को मारिसकेको छ । नगर अस्पतालको प्रमुख भएर पुगेका डा. राजेश पौडेल नेतृत्वमा यहाँ भएको परिवर्तन उल्लेख्य छ । व्यवस्थापकीय पक्ष चुस्त हुँदा बिरामीले समयमा उपचार पाउने मात्र हैन अस्पतालमा हरेक प्रकारका सेवा पनि थपिएका छन् । अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउण्ड, ल्याब, ओपिडी, सुत्केरी सेवासहित पोष्टमार्टम सेवा संचालनमा छ । जसका कारण गलकोट र ताराखोला मात्र नभई बडिगाड र राजमार्गका अन्य बिरामीले पनि सेवा पाएका छन् । पोष्टमार्टम सेवा नहुँदा स्थानीयले सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले गलकोटमा डाक्टरको नियमित उपस्थिति र सेवा पनि भएकोले मृत्युपछि पनि मृतकका परिवारले खेप्ने सास्ती कम भएको छ । यहाँ दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामी उपचार गर्न आउनेको तथ्यांक छ ।
डिजिटल अभिलेखीकरण पद्दती
उपचार पद्दती बारेमा गलकोट नगर अस्पतालले डिजिटल रेकर्ड राख्ने गरेको छ । अस्पतालमा मात्र नभइ त्यो तथ्यांक नगर स्वास्थ्य शाखामा पठाइन्छ । तथ्यांकलाई रोगको प्रकृति अनुसार फरक फरक प्रविष्टी हुने गरेको छ । टिकट काट्ने बित्तिकै बिरामीको बिवरण र रोगको प्रकृति अनलाइनमा प्रविष्टी गरिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए । अस्पतालबाट जस्तै नगरपालिकाले सबै वडाका स्वास्थ्य चौकीबाट अनलाइन डाटा संकलन गर्छ । यसरी संकलित डाटा नगरले अद्यावधिक गर्ने र जिल्ला स्वास्थ्यमा पठाउने गरेको छ । गण्डकी प्रदेशमै गलकोटले पहिलो पटक डिजिटल अभिलेखीकरण पद्दती भित्राएको थियो ।

सबै कारोवार पारदर्शी बनाउन यो पद्दती अति उपयोगी भएको छ । औषधी बिक्री तथा टिकट शुल्क पनि अनलाइन बिलबाट काटिन्छ । धौलागिरि अस्पतालले गर्न नसकेको पद्दती गलकोट नगर अस्पतालले शुरु गरेको हो । यो पद्दतीले काम छिटो, पारदर्शी र व्यवस्थित बनेको नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए । हरेक बिरामीको तथ्यांक राख्दा कुन प्रकृतिको रोग तथा संक्रमण बढी छ भन्ने समेत बुझ्न र बुझाउन पाएको उनले जानकारी दिए । ती मध्ये ४० प्रतिशत प्रेसरका बिरामी हुने गरेको तथ्यांक देखिन्छ । भिडियो एक्सरे, सुरक्षित सुत्केरी सेवा, एम्बुलेन्स सेवा, आँखा उपचार, इमरजेन्सीसहित १५ शैयाको व्यवस्थापन भएपछि अस्पतालमा बिरामी आउने क्रमपनि बढेको हो ।
गलकोट बागलुङ र गुल्मीका केही पालिकाको पायकमा छ । त्यसैले ताखोला, बडिगाड गाउँपालिका र गुल्मीको चन्द्रकोट नगरपालिकाबाट बिरामी आउन थालेको तथ्यांक छ । ‘सामान्य समस्यामा हामीहरु बागलुङ र पोखरा जाने बाध्यता थियो’ वडा नं. ६ का अध्यक्ष रामप्रसाद कंडेलले भने, ‘अस्पतालको चुस्त सेवाले हामीले नगरमै गर्ब गर्न पाएका छौं ।’ अस्पतालको सेवा प्रभावकारी बन्दा निजी क्लिनिकमा जानुपर्ने बाध्यता समेत हटेको स्थानीयको अनुभव छ । पोष्टमार्टम सेवाले त मृत्युपछि हुने खर्च जोगिएको उपप्रमुख फमलाल निउरेको भनाइ छ । शव बोकेर जाने आउने गर्दा ५० हजारबढी भाडा मात्रै तिर्नु पर्ने बाध्यता हटेको उनले बताए । कुनै घटना भएमा शव पोष्टमार्टन नगरी दाहसंस्कार गर्न पाईदैन ।
चालु बर्ष ५० लाख खर्च गर्ने लक्ष
अस्पतालको सेवासँगै नगरपालिकाले हटियादेखि अस्पताल सम्मको सडक स्तरीय बनाएको छ । एमडिजीपी डाक्टर राजेश पौडेलले अस्पतालमा अपरेशन सेवा पनि संचालनको तयारी गरेको बताए । अपरेशनका लागि तालिम प्राप्त नर्सको समेत व्यवस्थापन भएको हो । ‘जनताले धेरै दुःख पाएकोले गतबर्ष ५० लाख रुपैयाँ लगानी गरियो’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘चालु बर्ष पनि ५० लाख खर्च गर्ने लक्ष्य छ ।’ अस्पताल व्यवस्थित बन्दा आम नागरिकको करोडौं खर्च बच्ने उनले बताए । जापानमा बस्ने युवाले एक्सरे मेसिन, एम्बुलेन्स, आँखा उपचार केन्द्र लगायतमा सहयोग गरेका छन् । सहयोगपछि अस्पताल नियमित संचालनमा सहज भएको हो ।

अस्पतालको सेवा संचालनमा आएपछि गलकोट नगरपालिका–१० पाण्डवखानीका बिष्णु काउचाले हरेक सोमबार निशुल्क ट्यांक्सी सेवा दिएका छन् । मध्यपहाडी लोकमार्गदेखि अस्पताल सम्मको ५ किमी सडकमा उनले सोमबार ट्याक्सीमा अस्पताल पु¥याउने काम गरेका हुन् । अस्पतालमा सोमबार गर्भ परीक्षण सेवा छ । पैसा नभएर अस्पताल जान नपाएको र गर्भ परीक्षण गर्न नपाएको सुन्न नपरोस् भनेर ट्याक्सी सेवा दिएको उनले बताए । गलकोट नगरपालिकाले स्वास्थ्य संस्थामै गएर नियमित गर्भ परीक्षण गर्नेलाई प्रोत्साहन भत्ता दिन थालेको छ । गलकोट नगरपालिकाभित्र ५ वटा वर्थिङ सेन्टर छन् । हरेक बर्ष झण्डै ३ सयसम्म महिलाले यो सेवा लिएको तथ्यांक छ । ग्रामीण क्षेत्रमा बस्ने महिलाले समयमै स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउन यो व्यवस्था गरिएको हो ।





