बागलुङ/एक निर्वाचन क्षेत्र, एक गौरवको आयोजनामा रहेको पर्वतको जलजला गाउँपालिका–७ को सडक कालोपत्रे गर्न शुरु भएको छ । जलजला गाउँपालिकाको मुकाम रहेको मिलनचोकदेखि ठोट्नेरी जोड्ने १ किमी सडक कालोपत्रे थालिएको हो । सडक कालोपत्रे गर्न सुरु भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
यो सडकको ठेक्का झण्डै ५ बर्ष अघिनै लगाइएको थियो । तोकिएको समयमा काम नसकेपछि पूर्वाधार बिकास कार्यालय पर्वतले यो सडक निर्माण कम्पनीको दुइपटकसम्म म्याद थपेको थियो । ढिला भए पनि सडक बन्न लागेकोमा स्थानीयले खुसी व्यक्त गरे । ‘यो सडक बन्दा किसानको कृषि फसल पनि सहजै बजारमा लैजान सकिन्छ,’ स्थानीय साजन परियारले भने, ‘यो सडक बनेपछि गाउँले जिवन पनि फेरिनेछ ।’ बसाइँसराइलाई रोक्न पनि यो सडक उपयोगी हुने उनले बताए ।
मिलनचोकदेखि धाईरिङस्थित ठोट्नेरी जोड्ने सडकले जलजलाको मुकाम मिलनचोकमा पनि जोड्छ । गण्डकी प्रदेश सरकारको २८ करोड १३ लाख रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालयले २०७६ मंसिरमा यो सडकको ठेक्का लगाएको थियो । ठेकेदार कम्पनी ‘हिमदुङ एण्ड थोकर प्रालि’ले ढिलागरी काम गरेको हो । नियमित काम गरेको भए २०७८ मंसिरमा काम सकिनुपथ्र्यो । दुइ पटक म्याद थप पछिको अन्तिम समयमा ठेकेदारले काम सम्पन्न गर्ने संभावना देखिएको इन्जिनियर जिता गिरीले बताए ।
ठेकेदार कम्पनीले भने बिच खण्डमा पहिरो परेकोले काम ढीला भएको बताएको छ । काम थालिएकोले कालोपत्रे गरिसक्ने ठेकेदारका प्रतिनिधि विजय यादवले जानकारी दिए । बरु पहिरो नियन्त्रणको लागि कार्यालयले नयाँ योजना बनाउनु पर्ने उनले सुझाए । ‘पहिरो नियन्त्रणको छुट्टै योजना भएमा अरु खण्ड हामीले कालोपत्रे गछाँर्,ै’ यादवले भने, ‘पहिरोकै कारण भएको काममा पनि असर पर्न सक्छ ।’ आगामी असार मसान्त सम्ममा १० किमी सडक कालोपत्रे गर्ने उनले बताए ।
मिलचचोकदेखि सुरु भएको यो सडकको ३.६ किमीको दुरीमा खसेको पहिरो नियन्त्रणका लागि पूर्वाधार कार्यालयले छुट्टै योजना बनाउनु पर्ने ठेकेदारको शर्त छ । सडकको काम सम्पन्न भएमा पहिरोको छुट्टै स्टिमेट गरेर नियन्त्रणको योजना ल्याउने गिरीले जानकारी दिए । यो सडक दिगो रुपमा चलाउन कार्यालयले पनि पहल गर्ने र पहिरो नियन्त्रणको योजना बनाउन सकिने उनको भनाइ छ ।
यो सडकले पर्वतकै लेखफाँट, शालिजाहुँदै म्याग्दीसम्म जोड्छ । यो सडक भएर सजिलै सदरमुकाम कुश्मा, बेनी र बागलुङ बजारसम्म सामान ढुवानी गर्न सकिन्छ । बागलुङ नगरपालिकाले धाइरिङ नजिकैको फोर्सेदेखि बानपा ४ को ढोडेनी जोड्ने सडक समेत कालोपत्रेको लागि ठेक्का लगाएको छ । यो सडक बनेमा किसानले १ घण्टामा बागलुङ बजारमा लगेर कृषि उपजको बिक्री गर्न सक्छन् ।





