बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डिप बोरिङपछि काकाकुल शंकरपोखरीमा पानी

डिप बोरिङपछि काकाकुल शंकरपोखरीमा पानी

पानीको आपूर्तिलाई सहज बनाउन निर्माण व्यवसायी गिरिजा प्रसाद तिवारीद्वारा आउँदा दिनमा स्रोतको खोजी गर्नेगरी तत्कालका लागि गाउँलेको प्यास मेटाउने उद्देश्यले १० लाख रुपैयाँ लगानी ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार
Exif_JPEG_420

पर्वत/फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ । पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे । खरो लागेको बेला एक गिलास पानी पाउनुभन्दा ‘कोल्ड ड्रिँक्स’ ले प्यासले मेटाउनुपर्ने बाध्यता शंकरपोखरीमा छ ।
शंकरपोखरी डाँडा, पुर्कोट, चाम्लेश्वार, कुँडापानी, पोखराचौर, लगायतका क्षेत्रमा वर्षौँदेखि पानीको समस्या रहँदै आएको छ । बाटो हिँड्दै गरेका बटुवाले प्यास लागेर पानी माग्दा समेत दिन नसकिने अवस्था शंकरपोखरीमा छ । किनकि एक गाग्री पानीको लागि आधादेखि एक घण्टा टाढा रहेका सामान्य धारा र कुवामा निर्भरता छ । लामो समय पालो पर्खिँदा पाएको एक गाग्री पानीले पिउन त नपुग्ने अवस्थामा चौपायाको प्यास र सरसफाइको काम गर्न उस्तै सकस छ ।
पानीको हाहाकार रहेको शंकरपोखरीको पुर्कोटमा गत बिहीबार प्रतिसेकेन्ड चार लिटरका दरले पानी झ¥यो । अनि गाउँलेहरू एकै ठाउँमा भेला भए, गाउँमा अमृत झरेको भन्दै पाइपबाट खस्दै गरेको पानी हातमा थापेर सिरमा लगेर छर्किए । एक थुर्मी पानीको लागि थुक निल्नुपर्ने गाउँमा एकाएक पानीको फोहरा चलेपछि पुर्कोटबासीमा जीवनको सबैभन्दा खुसी त्यही जस्तो देखिन्थ्यो ।
वडाध्यक्ष अर्जुनबहादुर कार्कीका अनुसार शंकरपोखरीकै धारापानीदेखि पुर्कोटतर्फ करिब एक सय मिटरको दूरीको उचाइमा डिप बोरिङ गरेर पानी निकालिएको छ । सानातिना योजनाले पानीको आपूर्ति नै गर्न असम्भव रहेको शंकरपोखरीमा तत्कालका लागि करिब १० लाख रुपैयाँको लागतमा सुरु गरिएको बोरिङको पानीले करिब दुई सय ५० परिवारलाई आवश्यक पानी आपूर्ति हुने भएको छ ।
‘यत्रो ठुलो वडा नै खानेपानीको ठुलो समस्या छ । हाम्रै यति ठुलो गाउँमा दुई÷तीन ओटा कुवा र धारा मात्रै छन्, ती पनि नजिकमा त कहाँ हो र ?’, स्थानीय गङ्गा थापा भन्छिन्, ‘डोकोमा गाग्री बोकेर पानी ओसार्दै एक जनलाई ठिक्क हुन्छ । यस्तो ठाउँमा पाइभरीको पानी आयो। अब त ढुक्कले पानी खान पाउने भइयो ।’
पानीको यो आपूर्ति भने सरकारले नभई स्थानीय निर्माण व्यवसायी गिरिजाप्रसाद तिवारीले आगामी दिनमा स्रोतको खोजी गर्ने गरी गरेका हुन् । लाखौँ लगानी गरेर लमाए खोलाको पानीलाई ‘लिफ्ट’ गरेर वितरणका लागि काम चलिरहेको भए पनि त्यसले मात्रै आवश्यकता पूरा नहुने अवस्था छ । पानीको आपूर्तिलाई सहज बनाउनकै लागि निर्माण व्यवसायी तिवारीले आउँदा दिनमा कुनै स्रोतको खोजी गर्ने तर तत्कालका लागि गाउँलेको प्यास मेटाउने उद्देश्यले १० लाख लगानी गरेका वडाध्यक्ष कार्कीले बताए ।
‘पानीको साह्रै समस्या भएपछि तिवारी जी ले स्रोतको सुनिश्चित नहुँदा नहुँदै पनि १० लाख बढी लगानी गरेर गाउँमा पानी झार्नुभएको छ । यसले यो वडाका करिब साढे दुई सय घरमा पानीको सहज आपूर्ति हुन्छ’, उनले भने, ‘पानीकै अभावले बसाईसराईँदेखिका अन्य समस्या भोग्दै आएका गाउँलेलाई अब राहत भएको छ । अहिले पुर्कोटमा लगातार पानी झरिरहेको छ ।’
‘बोरिङ’ बाट तानेको पानीलाई पुर्कोट र शंकरपोखरी डाँडा गरेर दुई ठाउँमा रहेका ‘रिजर्भवेयर ट्याङ्की’ मा खसालिने छ । पुर्कोटमा रहेको ‘ट्याङ्की’ बाट आपूर्ति हुने पानी पुर्कोट सहित कुँडापानीको मानमेला, चाम्लेश्वार, चुचनदेउराली लगायतका स्थानमा पुग्ने छ भने डाँडामा रहेको ट्याङ्कीले सोही आसपासका स्थानीयलाई सुविधा हुने छ । पुर्कोटमा स्याङ्जासँग सिमाना जोडिएको डहरे देउरालीबाट आएको पुरानो योजनाको पाइप विस्तार कायमै रहेकाले सोही पाइपलाइनमा पानी जडान गर्दा तत्कालै आपूर्ति सुरु भएको छ ।
तर शंकरपोखरी डाँडामा रहेको ट्याङ्कीमा पुरानो योजनाका संरचना नहुँदा तत्कालै पानी पठाउन नसकिने भएको छ । पुर्कोटमा शाखा लाइन निर्माणको काम समेत पूरा भइसकेकोले पानीको आपूर्ति नियमित बनेको र तत्कालै ‘मिटर’ जडानको काम थालिने छ । शंकरपोखरी डाँडामा रहेको ‘ट्याङ्की’ बाट भने करिब एक महिनाभित्रमा पानी वितरणको काम सुरु गर्ने वडाध्यक्ष कार्की बताउँछन् ।
शंकरपोखरीमा गाउँबाट निकै तल रहेको लमाए खोलाबाट ‘लिफ्ट’ योजनामार्फत पनि पानीको आपूर्ति गर्ने काम अन्तिम चरणमा छ । केही समय पहिला जोडिएको ‘मोटर’ मा समस्या देखिएपछि अहिले पानी नआएको र अब नयाँ ‘मोटर’ जोडेपछि लमाएको पानी समेत वितरण सुरु हुने छ । यी दुवै योजनामार्फत आउने पानीले एकद्धार प्रणालीबाट आवश्यकता अनुसारका ‘ट्याङ्की’ मा खसालेर ‘मिटर सिस्टम’ मार्फत पानीको आपूर्ति गरिने वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->