पर्वत/नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन खोजेमा एमालेले दक्खल दिने बताएका छन् ।
नेकपा (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै उनले एमाले जनमत र सामर्थ्यको हिसाबले देशकै सबैभन्दा शक्तिशाली पार्टी भएकोले यही शक्तिलाई किनारा लगाउन खोजेमा एमालेले पनि दक्खल दिने बताएका हुन् । एमालेलाई किनारा लगाउँदा मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आह्वान पनि गरे ।
‘एमाले देशको सबैभन्दा शक्तिशाली पार्टी हो’, उपाध्यक्ष पौडेलले भने, ‘एमालेलाई किनारा लगाएर देश अगाडि बढ्न सक्दैन । बरु एमालेले दक्खल दिन्छ ।’
च्यासलको पार्टी कार्यालय नीतिमा जे निर्णय गर्छ त्यही निर्णयलाई देशको प्रशासनिक केन्द्र सिंहदरबारले पनि कार्यान्वयन गर्न सक्ने गरी एमालेलाई बलियो बनाउनुपर्ने पौडेलले बताए ।
ओली बिनाको एमाले र एमाले बिनाको देश उस्तै हुने भएकोले आउँदो निर्वाचनमा एमालेलाई एकल बहुमत प्राप्त पार्टी बनाउन उनले कार्यकर्ताहरूलाई आह्वान गरे । आगामी निर्वाचनमा अरू दलको सहयोग बिना नै बहुमत प्राप्त भएमा च्यासलको निर्णय सिंहदरबारले पनि मान्ने अवस्था आउने उपाध्यक्ष पौडेलको तर्क छ ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायतले पनि सम्बोधन गरेका थिए । उनीहरू सबैले एमालेको एकता कायमै रहनुपर्ने भन्दै गुट उपगुट खडा गरेर निर्वाचनको प्रक्रियामा नजान सुझाएका छन् ।
बुधवार र बिहीबार बन्द अधिवेशनको बन्द सत्र चल्ने छ । बन्द सत्रले आगामी कार्यकालको लागि नयाँ जिल्ला कमिटी निर्माण गर्ने छ । अधिवेशनमा जिल्लाभरबाट करिब तीन सय ८५ जना प्रतिनिधि सहभागी छन् । पार्टीको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा एमाले पर्वतको अध्यक्ष बनेका राजुप्रसाद पौडेल स्वयं नै १० औँ अधिवेशनबाट पुनः नेतृत्वमा आउन चाहेका छन् । यस्तै उपाध्यक्ष पदमपाणि शर्मा र सचिव गोविन्द पहाडी पनि अध्यक्ष पदका दाबेदार हुन् ।





