बागलुङ/दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो ।
चैत्र २८ गतेदेखि सुरु भएको प्रतियोगिाता वैशाख १ गते सकिएको हो । वडा नं. २ भीमापोखराको अक्षेते बजारमा प्रतियोगिता सञ्चालन भएको थियो । गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले कार्यक्रमको माध्यमबाट गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं प्रवर्द्धन, सभ्य संस्कृतियुक्त शिक्षित, सक्षम, समुन्नत, विकसित, आत्मनिर्भरता सहितको समृद्धि काठेखोला निर्माणको क्षेत्रमा टेवा पुग्ने बताए ।
गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिहरूको संरक्षण, सम्वर्द्धन एवं प्रदर्शन गरिएको बताए । उनले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्रहालयको थप प्रचार प्रसार भएको बताए ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तंग्रामले जितेको छ । प्रतियोगितामा रेश दोस्रो भयो । दोस्रो काठेखोला लोकतारा–२०८० मा धम्जाकी अनिता थापा प्रथम भईन् । दोस्रो काठेखोला गजल प्रतियोगितामा तंग्रामका चन्द्र बहादुर आले ‘बिष्णु’ प्रथम, सामूहिक नृत्यमा तंग्राम र खुल्ला ताराखेलमा ताराखोला गाउँपालिकाको समुह, ब्याडमिन्टनमा मिनबहादुर गुरुङ र दुर्गाबहादुर पुनको समुह प्रथम भएको छ ।
काठेखोला प्रतिभा सम्मान–२०८० बाट साहित्यतर्फ दिल शिरिष, संगीततर्फ हेमराज आश्रम र खेलकुदतर्फ कृष्ण प्रसाद कँडेल सम्मानित भए । उनीहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरिएको थियो ।
भलिबलमा प्रथम हुनेले १ लाख, द्वितीयले ६० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गरे । लोकतारा विजेताले ३० हजार, फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै गजलमा हुने प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ प्राप्त गरे भने सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी, खुल्ला ताराखेलको विजेताले ५० हजार र द्वितीयले ३० हजार, व्याडमिन्टन प्रतियोगिताको विजेताले १० हजार र द्वितीयले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए । उनले काठेखोला गाउँपालिकाको १३ औं गाउँसभाबाट ५ लाख र १४ औं गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजित गरिएको बताए ।





