बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यार्थी भर्ना अभियान : पहिला आउनेलाई टीका, शिक्षक अभिभावकको दैलोमा

विद्यार्थी भर्ना अभियान : पहिला आउनेलाई टीका, शिक्षक अभिभावकको दैलोमा


  • संजय रेग्मी
  • बैशाख ५ २०८१, बुधबार

पर्वत/‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आइतबारदेखि सुरु भएको छ । एक महिनासम्म नै सञ्चालन हुने भर्ना अभियानमा यस पटक विद्यालयभित्रका पाँच लाख ८२ हजार र नयाँ भर्ना गर्नुपर्ने दुई लाख १३ हजार गरी कुल सात लाख ९५ हजार विद्यार्थीलाई भर्ना गर्ने तयारी छ ।
पाँच वर्ष पूरा भई छ वर्ष उमेर सुरु भएका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गर्न स्थानीय तहको नेतृत्वमा अभियान सुरु भएको छ । यस पटकको अभियानमा विद्यार्थी भर्ना मात्रै नभइ उनीहरूको टिकाउ दरलाई पनि ध्यानमा राखेर भर्ना अभियान चलाउन शिक्षा मातहतका निकायहरूले जोड दिइरहेका छन् ।
अभियान सुरु भएको दिन आइतबार पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रको सबैभन्दा पहिला भर्ना हुन आएका दुई जना बालिकाहरूलाई टीकाले स्वागत गर्दै विद्यार्थी भर्ना गरेको छ । विद्यालयले कुश्मा नगरपालिका–१ पाङबाट कक्षा पाँचमा भर्ना हुन आएका अनुसा र अनुसार के.सी.लाई टीका लगाएर स्वागत ग¥यो अनि कक्षा १२ सम्मको अध्ययन सोही विद्यालयबाट गर्न र उच्च शिक्षा शिक्षा हासिल गर्न अनुरोध ग¥यो । उनीहरूका अभिभावकलाई प्रधानाध्यापक प्रकाश रिजालले बिचमै पढाई छाड्न नहुने कुरा सम्झाए ।
सदरमुकाममै रहेको शिवालय माध्यमिक विद्यालयले पनि विद्यार्थीलाई स्वागत गर्दै भर्ना अभियान चलाइरहेको छ । पहिलो दिन दुई गतेबाट नै विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरूको चाप बढिरहेको भन्दै उनले विद्यालयले गरिरहेको शैक्षिक सुधार, भौतिक व्यवस्थापन लगायतले पनि विद्यार्थीहरू आफै भर्ना हुन आइरहेको बताए । यस शैक्षिक सुरुमा भर्ना हुन आएका विद्यार्थीहरूलाई टीका लगाएर सुरु भएको भर्ना अभियानमा उनीहरूलाई ‘ड्रप आउट’ हुन नहुने गरी सम्झाइएको उनको भनाई छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूले भने भर्ना अभियान अन्तर्गत घरदैलो नै गरेर अभिभावकहरूलाई भेट्ने र भर्नाका लागि सहजीकरण गरिरहेका छन् । अध्ययनकै लागि मात्रै बजारमा झरेका तथा निजी विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा आउनको लागि विद्यालयहरूले विभिन्न प्रयास गरिरहेका देखिन्छन् । बसाइसराइ र कम जन्मदरका कारण विद्यालयमा विद्यार्थीको चाप घटिरहेको बेला पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयहरूले शैक्षिक गतिवधिलाई तीव्रता दिँदै आएका छन् ।
‘शिक्षा क्षेत्रमा राज्यले गरिरहेको लगानीको सदुपयोगका लागि पनि सामुदायिक विद्यालयको पहुँचबाट कोही पनि विद्यार्थी बाहिर रहन हुँदैन भन्ने मान्यताका साथ भर्ना अभियान चलाइरहेका छौँ । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरू नै यति बेला घर–घरमा पुगेर अभिभावक र बालबालिकाहरूलाई भेटिरहेका छौँ,’ कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले भने, ‘पढ्नै लागि मात्रै बजार झारिएका बालबालिकाहरू अब गाउँमै फर्किनुपर्छ । हामी शिक्षकहरुले मिहिनेत गर्ने र अभिभावकहरू पनि गाउँ फर्किने हो भने गाउँको जमिन बाँझो रहनु पर्दैन, बन्द गरिएका घरका ढोकाहरू पनि खुल्छन् ।’
कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले नगरपालिकाका हरेक विद्यालयले भर्ना अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताए । विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू सङ्कटमा पर्दै गएको अवस्थामा आफ्नो अस्तित्व जोगाउनको लागि पनि विद्यालयहरूले भर्ना अभियानलाई महत्त्वपूर्ण रूपमा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->