पोखरा/उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
‘प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै उहाँले सृजना गर्नु भएको तर प्रकाशन नभएका कृतिलाई प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’ सचिव श्रेष्ठले भने । यसका अलावा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शिर्षकमा सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।
गण्डकी प्रदेशको चिनारी गीतका सर्जक समेत रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ । साथै मृत आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय बैठकले गरेको छ ।





