बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेरोजगार र अस्थायी कर्मचारीलाई निःशुल्क कक्षा

बेरोजगार र अस्थायी कर्मचारीलाई निःशुल्क कक्षा


  • संजय रेग्मी
  • बैशाख ११ २०८१, मंगलबार

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाका बेरोजगार रहेका तथा अस्थायी रूपमा सरकारी सेवामा काम गरिरहेका कर्मचारीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार सरकारी सेवामा बिहादी गाउँपालिकाका व्यक्तिहरू कम रहेको तथा आर्थिक समस्याका कारण अध्ययन गर्न समस्यामा परेकाहरूलाई केन्द्रीत गरेर कक्षा सञ्चालनको तयारी गरिएको हो । लोक सेवा, शिक्षा सेवा, बैंक सेवा, संस्थान लगायतमा सेवा गर्न इच्छुक भएर पनि यसको तयारीबारेमा अलमलमा परेकाहरूलाई पनि यो कार्यक्रममा समेटिने छ ।
‘सरकारी सेवामा बिहादी गाउँपालिकाको उपस्थिति कम भएको अवस्था छ । विभिन्न सेवामा प्रवेश गर्न इच्छुकहरूलाई आवश्यक तयारी सामग्री खरिद गर्ने तथा कक्षा लिनेमा पनि कतिपयले समस्या भोग्नुभएको छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘हामीले कम मूल्यमा गुणस्तरीय कक्षा सञ्चालनका लागि तालिम प्रदायक संस्थासँग कुरा गर्ने छौँ। गाउँपालिकाका युवा युवतिले उक्त कक्षामा निःशुल्क रूपमा अध्ययन गर्नुहुन्छ ।’
बेरोजगार रहेकाहरू बाहेक अस्थायी सेवामा रहेकाहरू पनि अस्थायी मानसिकतामा हुने भएकोले उनीहरूलाई समेत तयारी कक्षामा समावेश गर्न लागिएको हो । अवसर दिएमा अस्थायी रूपमा काम गरिरहेका कर्मचारीहरू र शिक्षकसमेत स्थायी सेवामा प्रवेश पाउने सम्भावना रहेकोले उनीहरू पनि समेटिएका हुन् ।
गाउँपालिकाले केही दिन पहिले नै इच्छुकहरूबाट आवेदन माग गरेर कक्षा सञ्चालनको तयारी थालेको थियो । हालसम्म एक सय १७ जनाको निवेदन आएकोमा तालिम सुरु गर्ने भनिएको भए पनि धेरैलाई अवसर दिनका लागि यो सङ्ख्या दुई सय पु¥याउन लागिएको छ । आवश्यक परेको लगानी गाउँपालिकाले गर्ने तर जतिसक्दो धेरैलाई कक्षामा सहभागी गराउने निर्णय अनुसार थप केही दिन पर्खिएर बाँकी रहेका इच्छुकहरूबाट पनि आवेदन माग गरिएको छ ।
हालसम्म फाराम भरेका एक सय १७ जनालाई भने कक्षा सुरु हुनुपूर्वको अभिमुखीकरण समेत प्रदान गरिसकिएको छ । विभिन्न सेवा आयोगको बारेमा जानकारी, स्थायी सेवाका अवसर र चुनौती, शिक्षक तथा कर्मचारीहरूले समाज र देशको लागि गर्नुपर्ने योगदान, कर्मचारीहरूमा हुनुपर्ने गुण र सीपको विकासलगायतका बारेमा अभिमुखीकरणमा जानकारी गराइएको छ ।
सात ओटा स्थानीय तहहरू रहेका पर्वतका अन्य स्थानीय तहहरूले पनि बेला बेलामा यस्तै खालका तयारी कक्षाहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आइरहेका छन् । पर्वतका धेरै व्यक्तिहरू शिक्षक सेवा र निजामती सेवामा कार्यरत रहँदा नयाँ पुस्ताहरूमा पनि शिक्षक सेवा र लोक सेवाको आकर्षण कायमै रहेको छ । युवाहरूको मागकै आधारमा स्थानीय तहहरूले कक्षा सञ्चालन गर्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->