युवा पलायन कसैलाई दोष दिएर मात्र रोक्न सकिंदैन । बरु यहीं काम गरेर खाने, कमाइ गर्ने अवसर पनि दिनुपर्छ । त्यसैले नगरक्षेत्रमै किसानले राम्रो कमाइ गर्ने वातावरण बनाउन नगरपालिकाले भूमिका खेलेको छ ।
तरकारी बजारीकरणका लागि गौमुखी कृषि विकास सहकारी संस्थासँग साझेदारीमा तरकारी संकलन केन्द्र र हाटबजारको भौतिक संरचना निर्माण भई औपचारिक शुरुवात भएको छ । सोही सहकारीसँग उत्पादनमा आधारित अनुदान कार्यक्रम (तरकारीमा) सम्झौता भैसकेको छ । नगरक्षेत्रमा बाँझो जमिन पुनः उपयोग एवं अनावस्यक झाडीबुट्यान हटाउन प्रोत्साहन कार्यक्रम गरिएको छ । त्यसका लागि १० जना किसानसँग सम्झौता गरेर ८६ रोपनी जमिनमा काम अगाडि बढेको छ ।
नगरपालिकाले कृषि फर्म छनौट गरी पूँजिगत अनुदान कार्यक्रम अघि बढाएको छ । हालसम्म ११ वटा फर्ममा ७ लाख रुपैयाँ लगानी भएको छ । साना सिंचाइ मर्मत तथा संभारमा ५ वटा फर्ममार्फत ५ लाख लगानी भएको छ । दूधमा पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम शुरु भएको छ । चिस्यान केन्द्र सवलीकरण तथा दूध संकलन केन्द्र बिस्तार कार्यक्रमअन्र्तगत गलकोट कृषि सहकारी संस्था वडा नं. ९ सँग सम्झौता भएको छ ।
फलफूल प्रवद्र्धन कार्यक्रमअन्र्तगत सुन्तला पकेट क्षेत्र वडा नं. २, ५ र ११ मा अदुवाको लागि वडा नं. ८ मा बेसारका लागि वडा नं. ६ मा निर्धारण भई प्रस्तावमार्फत कार्यान्वयन शुरु भएको छ । ओखरखेतीलाई उत्पादनको अवस्थामा लैजान वडा नं. १, ४ र १० मा गतबर्ष रोपिएका १ हजार बिरुवालाई गोडमेल र प्राविधिक विशेषज्ञ तालिम दिइएको छ ।





