बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अज्ञात रोगले थलिएकी बालिकाको उपचार गर्न बुहारी ग्रुपले फेसबुकबाट उठायो ७५ हजार

अज्ञात रोगले थलिएकी बालिकाको उपचार गर्न बुहारी ग्रुपले फेसबुकबाट उठायो ७५ हजार


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८१, बुधबार

पर्वत/अज्ञात रोगका कारण संकटपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ ।
सामाजिक सञ्जाल ‘फेसबुक’ मा २०७७ सालमा विवाहित महिला (बुहारी) हरूद्वारा स्थापना भएको समूहले सामाजिक सेवाका क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको छ । विशेषतः महिला र बालबालिकाहरू समस्यामा रहेको सूचना पाएपछि ‘एडमिन’ ले ‘ग्रुप’ मा सहयोगको अपिल गर्छन् । अनि उक्त समूहमा रहेका ८२ हजार बुहारीमध्ये कोही न कोहीले केही न केही सहयोग गर्दा रकम संकलन हुँदै आएको ‘ग्रुप’ की संस्थापक लक्ष्मी तिवारीले जानकारी दिइन् ।
गत चैत १८ गते सपनाको अवस्थाको बारेमा सामग्री प्रकाशन भएपछि ‘बुहारी ग्रुप अफ नेपाल’ ले आर्थिक सहयोग संकलनको अभियान सुरु गरेको थियो । सोही अभियानका क्रममा उठेको ७५ हजार एक सय पाँच रुपैयाँ मंगलबार बालिकाको घरमा नै पुगेर हस्तान्तरण गरिएको हो । समूहका संस्थापक तिवारीसहित ‘मोडरेटर’ हरू गीता घिमिरे र पूजा शर्मासहित गएका प्रतिनिधिहरूले बालिकाको अवस्थाको अवलोकनसहित रकम हस्तान्तरण गरेका हुन् ।
रोजगारीका लागि भारतको मन्द्रासमा पुगेका सपनाका बाबु आनन्दबहादुर घिमिरे पछिल्लो छ महिनादेखि परिवारको सम्पर्कमा छैनन् । सपना बिरामी परेपछि आमा शारदा घिमिरेले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिन् । धेरै रोगको निदान गर्ने मणिपालले नै सपना देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन नसकेपछि क्यान्सर भएको हुनसक्ने आशंकामा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जान सुझाएको थियो ।
सकसपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको परिवारका मुख्य व्यक्ति नै सम्पर्कविहीन हुँदा झनै समस्यामा परेको परिवारकी उनै सपनालाई चितवनसम्म लैजान नसक्ने अवस्था आएपछि आर्थिक सहयोगका अभियानहरू सुरु भएका थिए । पोखरबाट चितवन लैजानुपर्ने छोरीलाई पैसाकै अभावमा पोखराबाट घरतर्फ फर्काएर राख्नुपरेपछि उनको अवस्थामा थप समस्या आएको थियो ।
सुरुमा ज्वरो आएपछि सपनालाई पर्वत अस्पतालमा ल्याएर उपचार गरिएको थियो । औषधी खाने बेलासम्म निको हुने अनि फेरि ज्वरो आउने क्रम चलेपछि उनलाई एक हप्ता अगाडी मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सबै परीक्षणपछि मणिपालले भरतपुर क्यान्सर अस्पताल रिफर गरेको हो ।
सपना अध्ययनरत जनसहयोगी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा गिरीका अनुसार परीक्षणको क्रममा दिइएका दुई ओटा नमुनाको ‘रिपोर्ट’ आउन बाँकी छ । नमुना दिएपछि एउटाको नतिजा २० दिनमा र अर्को नतिजा ५० दिनमा आउने भनिएकाले सपना कुन रोगबाट ग्रस्त छिन् भन्ने कुरा यकिन नभएको उनको भनाइ छ । सपनाकी आमा शारदा समेत बोलाई सम्बन्धी अपाङ्गता भएकी हुन् । यही कारण पनि समस्याको उपचारमा आर्थिक व्यवस्थापनका लागि चुनौतीहरू आइरहेका छन् ।
शारदाका श्रीमान् आनन्द चौकीदारीको काम पाउने भएपछि गत असोजमा भारत पसेका थिए । उनी मङ्सिरदेखि सम्पर्कविहीन छन् । श्रीमान् भारत जाँदा ऋण लिएको १५ हजार तिर्न नसकेर समस्यामा परेकी शारदालाई अब फेरि छोरीको समस्याले गम्भीर समस्यामा पारेको छ । शारदा र सपना ढुङ्गाले अँठ्याएको टिनको छाप्रामुनि बस्दै आएका छन् । उनी बस्ने झुपडी पनि छिमेकीको हो ।
सहयोग गरेको ‘बुहारी ग्रुप आफ नेपाल’ की संस्थापक तिवारीले आफूहरूको समूह समस्यामा परेकाहरूको दुःख बिसाउने चौतारी भएको बताइन् । हालसम्म १३ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरिसकेको समूहले ‘महिलाले पनि पुरुषकै जसरी काम गर्न सक्छन्’ भन्ने उदाहरण देखाउन पनि यो अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->