पर्वत/बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ ।
पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई बालबालिकाको नियमित खोपका सबै मात्रा पूरा गरे नगरेको यकिन गर्न स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । बालबालिकाहरूलाई भर्ना गर्दा खोप कार्ड ल्याउन लगाइ उक्त खोप कार्ड हेरेर खोपका बारेमा अध्ययन गर्न भनिएको छ । बालबालिका र अभिभावकलाई खोप र पूर्ण खोपको महत्वबारे जानकारी गराएर हरेक बालबालिकाले निःशुल्क रूपमा पाउने खोपहरू समयमा नै लिने अवस्था सुनिश्चित गर्नका लागि हरेक विद्यालयमा खोप कार्ड ल्याएर मात्रै भर्ना गर्न आह्वान गरिएको स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविन शर्माले बताए ।
खोप ऐन २०७२ को दफा ३३ मा ‘विद्यालयले बालबालिका भर्ना गर्दा निजको संरक्षक वा अभिभावकसँग बालबालिकालाई दिइएको खोप कार्ड माग गर्न सक्नेछ’ भन्ने प्रावधान रहेकोले विद्यालयले पाँच वर्षसम्मका बालबालिकाहरू भर्ना गर्दा यसै व्यवस्थालाई टेक्न पाउने शर्माको भनाई छ ।
‘बालबालिकाहरूले नियमित खोप नपाएको अवस्था रहेछ भने पत्ता लगाउने सजिलो तरीका विद्यालय भर्ना नै हो । भर्ना हुने बेलामा खोप कार्ड माग्ने हो भने छुटेकाहरू सहजै भेटिन्छन्,’ उनले भने, ‘विद्यालयले राम्रोसँग खोज्दा सोही विद्यालयकै विद्यार्थी स्वस्थ हुन्छन्, यो देशले स्वस्थ नागरिक पाउँछ । बाल मृत्युदरमा कमी ल्याउने उपाय पनि नियमित खोप नै हुन् ।’
स्वास्थ्य कार्यालय पर्वतकी ‘पब्लिक हेल्थ नर्स’ अञ्जली पौडेलका अनुसार बच्चा जन्मिने बित्तिकै बिसिजी, रोटा पोलियो, एफआइपिभी., पिसीभी, डिपीटी हेप बी हिब छ हप्तामा दुई पटक, रोटा, पोलियो, पिसीभी, डि.पि.टी हेप बी हिब १० हप्तामा तीनपटक लगाउनुपर्छ । यस्तै १४ हप्तामा पोलियो, एफआइपि.भी, डिपीटी हेप बी हिब, जन्मेको नौ महिनामा पिसीभी र दादुरा रुबेलाको खोप पाँच पटक, १२ महिनामा जापनिज इन्सेफलाइटिस छ पटक र जन्मेको १५ महिनामा दादुरा रुबेला र टाइफाइडको खोप सातपटक लगाउनुपर्ने तालिका छ ।





