फाइल तस्बिर
पर्वत/जिल्लाका सात ओटै स्थानीय तहका ६० स्थानमा भएको आगलागीबाट एक हजार चार सय १७ हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ ।
डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका आगलागीबाट ५५ ओटा सामुदायिक, तीन ओटा व्यक्तिगत र दुई ओटा राष्ट्रिय वनमा डढेलोले क्षति गरेको छ । क्षतिको भएको वनको क्षेत्रफल अन्तर्गत सामुदायिक वनको एक हजार दुई सय ७८ हेक्टर, व्यक्तिगत वनको एक सय २० हेक्टर र राष्ट्रिय वनेका १९ हेक्टर क्षेत्रफलमा रहेको वन जङ्गल जलेको छ ।
स्थानीय तह अनुसार हेर्दा कुश्मा नगरपालिकाका पाँच ओटा, मोदी गाउँपालिकाका २० ओटा, जलजला गाउँपालिकाका १० ओटा, महाशिला गाउँपालिकाका दुई ओटा, पैयुँ गाउँपालिकाका दुई ओटा, बिहादी गाउँपालिकाका दुई ओटा र फलेवास नगरपालिकाका १९ ओटा वनमा डढेलो लागेको छ ।
जलजला गाउँपालिका–४ मा रहेको फेदी सौरेनी सामुदायिक वनको १० हेक्टर क्षेत्रफल र वडा नं. २, ३ र ४ मा रहेको ठूलो सल्लेरी भिरमुनि वनको ६८ हेक्टर क्षेत्रफलमा लागेको डढेलोले खानेपानी योजनाको पाइप लाइन समेत जलेको छ । आगलागी भएकोमध्ये सबैभन्दा बढी मोदी गाउँपालिका–६ तिलाहार स्थित थामार्जुङ सामुदायिक वनमा लागेको डढेलोले एक सय ७५ हेक्टरमा क्षेत्रफलमा रहेको वन सखाप भएको छ ।
गत चैत दोस्रो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन । गत चैत्र २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला गाउँपालिका–५ को सिमल्टेचोर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियो। हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । हरेक वर्ष लाग्ने डढेलोले वन र वन्यजन्तु सहित मानवीय र मानवीय भौतिक संरचना लगायतमा ठूलो क्षति हुने गरेको छ ।
धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालय पर्वतले बताएको छ । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको कार्यालय प्रमुख सापकोटा बताउँछन् । डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सञ्चार माध्यममा प्रचारप्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिनुका साथै तीन ओटै सुरक्षा निकायलाई एक÷एक ओटा अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समिति मार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन समेत गरिएको उनको भनाई छ ।
पर्वतमा वनहरूमा फैलिएका डढेलोहरू मानवीय कारण नै हुन् । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण हुन् । प्रहरीले आगलागी गर्नेहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ ।
पर्वतको कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये २७ हजार छ सय ४० हेक्टर अर्थात् ५१ प्रतिशत क्षेत्रफलमा वन फैलिएको छ ।





