पर्वत/सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै जाँदा जिल्लाका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने जस्तो अवस्था आएको छ । विद्यार्थी जति नै कम भए पनि राजनीति, व्यक्तिगत प्रतिष्ठा, शिक्षक अर्को विद्यालयमा जानुपर्ने बाध्यता लगायतका विषयले विद्यालयमा विद्यार्थी नहुँदा पनि विद्यालय ‘मर्ज’ गर्न नसकिरहेको अवस्था छ ।
तर जलजला गाउँपालिकाले भने विद्यालय शिक्षाको सुधार तथा रित्ता विद्यालयमा खर्च हुने अनावश्यक खर्चलाई रोक्नको लागि गाउँपालिकाभित्रका ४४ ओटामध्ये २५ ओटा विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२), (ज) ११ र १२ मा भएको व्यवस्था अनुसार यो काम गर्न लागिएको हो । उक्त व्यवस्था अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, विद्यालय समायोजन तथा कक्षा समायोजन गर्नको लागि गाउँ शिक्षा समिति र वडा शिक्षा समितिको संयोजकहरूको बैठकबाट उक्त निर्णय गरिएको उनले बताए ।
जलजला गाउँपालिका–२ मा रहेको सिद्ध बाबा प्राविको कक्षा एक भन्दा माथिका, वडा नं. ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका, वडा नं. ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा पाँच भन्दा माथिका र वडा नं. ८ को तारा प्राविको कक्षा एक भन्दा माथिका कक्षाहरू गाभ्ने तयारी भएको छ । यी विद्यालयका कक्षाहरू शिव माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ । शिव माविमा तत्कालै नै गाडीको व्यवस्था नभएकोले केही समयका लागि चार ओटा विद्यालय हालकै स्थानमा रहने छन् । तर शिव माविमा गाडीको व्यवस्थापन भएपछि भने विद्यालय समायोजन हुने छ ।
यस्तै वडा नं. १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा एक भन्दा माथिकालाई ज्योति मण्डल माविमा, वडा नं. २ को दिनकल्याण प्राविको एक भन्दा माथिलाई समाज कल्याण प्राविमा, विन्दवासिनी प्राविको तीन भन्दा माथिलाई विद्या ज्योति माविमा, वडा नं. ४ को भवानी प्राविको एक भन्दा माथिलाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा सारिएको छ । वडा नं. ४ को सरस्वती प्राविको तीन भन्दा माथिकालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं. ५ को मालिका आधारभूत विद्यालयको पाँच भन्दा माथिलाई ज्योति माविमा, शिवालय प्राविको कक्षा एक भन्दा माथिलाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षाहरूलाई ग्रामप्रकाश माविमा सार्न लागिएको छ ।
वडा नं. ५ को पञ्चमूल प्राविको तीन भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको तीन भन्दा माथिलाई मालिका आधारभूत विद्यालयमा, वडा नं. ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको एक कक्षा माथिलाई ज्योति माविमा, भगवती सम्झना प्राविको तीन भन्दा माथिलाई शान्ति आधारभूतमा, सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा लैजाने निर्णय भएको छ । यस्तै वडा नं. ७ को भूमे प्राविको तीन भन्दा माथिका, ज्योति प्राविका एक भन्दा माथिका, सरस्वती प्राविका एक भन्दा माथिका र देउराली प्राविका तीन भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा सार्ने तयारी छ । सोही वडाको अमर प्राविको एक भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा सार्न लागिएको छ । वडा नं. ८ को जन जागृति प्राविको एक कक्षा भन्दा माथिका कक्षाहरू जनकल्याण माविमा सार्ने तयारी छ ।
‘विभिन्न कारणले देशैभरि नै विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्था छ । राज्यले विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी कटौती गरेको छ । विद्यालयमा विद्यार्थी थोरै हुँदा पनि सञ्चालन हुने कक्षा धेरै हुँदा दरबन्दी कटौती भएका शिक्षकहरुले जनशक्ति पुग्दैन’, गाउँपालिकाका अध्यक्ष आचार्य भन्छन्, ‘जसले गर्दा विद्यार्थीको पढाइ खस्कियो । अहिले तत्कालका लागि अस्थायी रूपमा कतिपयका केही कक्षा र कुनै त पूर्ण रूपमा अर्को विद्यालयमा गाभिएको छ । यो अस्थायी रूपमा लागू हुने छ । विद्यार्थीको सङ्ख्या बढेमा फेरि ती कक्षाहरू फिर्ता गर्न सकिन्छ ।’





