बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अध्यक्ष भागेपछि अलपत्र सहकारीको कार्यालय खुल्यो

अध्यक्ष भागेपछि अलपत्र सहकारीको कार्यालय खुल्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

बागलुङ/पर्वतको कुश्मामा रहेको ‘तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’लाई पुनस्र्थापना गरिएको छ । अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेपछि अलपत्र सहकारीका शेयर सदस्यले पुनःस्थापना गरेर संचालनमा ल्याएका हुन् ।
पीडितले विशेष साधारणसभामार्फत् सहकारी पुनःस्थापना गरेर सोमबार नयाँ कार्यालय स्थापना गरेका हुन् । गत चैत ६ गतेको बिशेष साधारणसभापछि बृहत अध्ययन गरेपछि सोमबारबाट कार्यालय स्थापना गरेर नयाँ संचालक समितिले कारोबार थालेको हो ।
संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले रकम हिनामिना गरेर बिदेश भागेका छन् । उनले रकम हिनामिना गरेपछि अलपत्र बचतकर्ताले ऋण उठाउने, हाल सम्मका सम्पत्ति र दायित्व बहन गर्ने काम थालेको सहकारीका संचालक कृष्णप्रसाद पौडेलले बताए । साधारणसभाले नविनप्रसाद पौडेलको अध्यक्षता नयाँ संचालक समिति गठन गरेको छ । उक्त समितिले संस्थाको सम्पत्ति रक्षा गर्ने र ऋण उठाउने पौडेलले बताए । समितिका अनुसार सहकारीको स्रेस्तामा ऋण उठउन पर्ने १८ करोड देखिएको छ । श्रेष्ठकै परिवारमा पनि ३ करोड बढी ऋण छ ।
बागलुङको इमेज बचत तथा ऋण सहकारीले पनि यो प्रक्रिया थालेको थियो । अध्यक्ष बेपत्तापछि बरामद भएका कागजात शेयर सदस्यले अदालतबाट फोटोकपी ल्याएका हुन् । सोहीअनुसार कार्यालय स्थापना गरेर शेयर सदस्य र बचतकर्ताले कारोवार थालेका हुन् ।
अध्यक्षले आफ्ना परिवारका सदस्यलाई समितिमा राखेको, ऋण पनि बिनाप्रमाण प्रवाह गरेको तथा सफ्टवेयर नष्ट गरेर बचतकर्तालाई अलपत्र पारेका थिए । उक्त घटनापछि पीडितहरुले दिएको उजुरीको आधारमा गत पुसमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीका कागजात बरामद गरेर अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अध्यक्ष श्रेष्ठसहित परिवारका सदस्य मिलेर बचतकर्ताको २९ करोड रुपैयाँ हिनामिना गरेको ठहर गरेपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा पछि प्रहरीले श्रेष्ठविरुद्ध डिफ्युजन र रेडकर्नर नोटिस जारी गर्न सिआइवीलाई सिफारिस गरेको छ । कुश्माका ३ सहकारीमा ५५ करोड ठगी आरोपमा अध्यक्ष र पदाधिकारी पक्राउ परेका छन् । केही फरार छन् । अदालतसम्म मुद्दा पुगेका तीन सहकारीबाहेक थप ७ वटाको नगरपालिकामा उजुरी परेको छ । कसैले रकम हिनामिनाको उजुरी गरेका छन् भने कसैले जथाभावी ऋण दिएको, असुल उपर नभएको, कसैले शेयर फिर्ता माग्दा नदिएको जस्ता उजुरी लिएर आउने गरेका हुन् ।
‘चुवा व्यावसायिक कृषि सहकारी’, ‘शिवालय बहुउद्देश्यीय सहकारी’, ‘बैसाली सहकारी’, ‘नगरविकास सहकारी’, ‘मातृभूमि सहकारी’ र ‘हिमालय खरेहा सहकारी’का बचतकर्ता र शेयर सदस्यको उजुरीको चाङ लागेको हो । अहिलेसम्म ५५ करोडको बिगो दाबीसहित अदालतले पदाधिकारीलाई थुना पठाउने आदेश दिएको हो । सबै फरारलाई पक्राउ गर्न सकियो भने बचतकर्ताको रकम फिर्ता गर्न सकिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->