पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोडसेडिङ’ सुरु भएको छ ।
शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ । जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ सय धारामार्फत पानी बाँड्न संस्थाको ट्याङ्कीमा प्रति सेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्छ ।
खडेरी परेपछि अहिले कुश्माका लागि प्रति २४ घण्टामा भएको २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको छ । तर बजारको माग अनुसार पानी छाड्ने हो भने प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी संस्थाको ट्याङ्कीमा खसेको हुनुपर्ने संस्थाका अध्यक्ष रवि कुमार श्रेष्ठले बताए । आकाशे वर्षा भएको भए तरकारी खेतीका लागि पानी नचाहिँदा संस्थाले अहिलेकै आपूर्तिबाट पनि सकेसम्म मिलाएर बाँड्न सक्ने उनको भनाइ छ ।
अहिले कुश्मामा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिका स्थित खुर्कोटको क्यादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टीङबाट पाँच लिटर र डिप बोरिङबाट पाँच लिटर प्रति सेकेन्डका दरमा पानी आइरहेको छ । लिफ्टीङ र बोरिङको आपूर्ति सधैँ एकैनास हुने भए पनि क्यादी खोलाको मुहानबाट भने सधैँ एकैनासको पानी आउँदैन । अब बर्खा लागेपछि प्रति सेकेन्ड ३५ लिटरसम्म पानी आउने क्यादी खोला अहिले सात लिटरमा पुगेको छ ।
पानीको आपूर्तिमा नै समस्या भएपछि मङ्गलवारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालो अनुसार पानीको वितरण गर्न पानीको ‘लोड सेडिङ’ सुरु गरेको छ । कुश्मा बजारका विभिन्न भागहरूलाई छ भागमा बाँडेर तीमध्येका तीन ओटामा बिहानको समय र तीन वडामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए ।
पोखरा महानगरमा पनि पानीको अभाव
पोखरा महानगरपालिकामा सुख्खा यामसँगै पानीको अभाव देखिएको छ । नेपाल खानेपानी संस्थान पोखरा शाखाले दैनिक वितरण गर्दै आएको ४ करोड ७० लाख लिटर पानीले अभाव भएपछि महानगरको केही क्षेत्रमा पानीको हाहाकार बढेको हो । नेपाल खानेपानी संस्थान पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा दैनिक ६ सयदेखि ७ सय हाराहारीको संख्यामा उपभोक्ताहरु पानी चाहियो भन्दै कार्यालय धाउन थालेको नेपाल खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी प्रकाश सिलवालले जानकारी दिए ।

पोखरामा सेती वारी र सेती पारी गर्दै पानीको वितरण प्रणाली मिलाएपनि हप्ता दिनसम्मको पालो कुर्दा पानी नआएको स्थानीय उपभोक्ताहरुले बताउँदै आएका छन् । पोखरा ८ इन्द्रपरी टोलमा बस्ने स्थानीय बद्री आचार्यले पानीको अभावमा निकै कष्टकर दैनिकी बनेको बताए । उपभोक्ताले भने जस्तै कार्यालयले पानीको व्यवस्था गर्न नसक्दा पोखरा शाखाको करिव ५१ हजार धाराका उपभोक्ता मर्कामा परेका छन् ।
खानेपानीको मुख्य स्रोत मर्दी खोला हो भने, कालीमुडा, भोटीखोला, बालधारा तथा बोरिङबाट वितरण गर्ने पानी उत्पादन कम हुँदा वितरणमा समस्या परेको पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्की बताउँछन् । सुख्खा खडेरीको मारमा संस्थान पनि परेको बताएका कार्कीले पोखरामा दैनिक ७ करोड लिटर पानीको माग भएपनि हालको अवस्थामा करिव ४ करोड ७० लाख पानी वितरण हुँदा हप्ता दिनसम्म उपभोक्तालाई कुराउनु परेको बताए । उपभोक्ताले भने १५ दिनमा पनि पानी नआएको बताउँदै आएका छन् ।
कार्कीले अकला वडा खानेपानी आयोजना हस्तान्तरण भएपनि सञ्चालनमा आउन नसक्दा दैनिक १४ लाख लिटर पानीको अभाव खेप्नु परेको बताए ।





