पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा हत्या भएपछि बिहान घरमा सुनसान भएपछि उनीहरूको हत्याको बारेमा थाहा भयो ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले घटनाको अवस्थाका बारेमा प्रारम्भिक अनुसन्धान हत्या नै भएको शङ्का गरेपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर सहितको विशेषज्ञ टोली आयो । तर पनि घटनाका विषयमा कुनै पनि तथ्यहरू बाहिर आएनन् । जे तथ्य पायो प्रहरीले त्यसैको आधारमा गोप्य रूपमा अनुसन्धान जारी नै राख्यो ।
यसैको परिणाम स्वरूप घटना भएको ठिक एक महिनामा नै पर्वत प्रहरीले घटनाका दोषीहरू सहित यससँग जोडिएका तथ्यहरू सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले दम्पती हत्या आरोपमा जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जी पक्राउ परेको जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्नहरुले लुटपाट गरेको सुन खरिद तथा गाल्ने कार्यमा संलग्न थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विकलाई लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैरी, बागलुङ नगरपालिका वडा नं. ७ घर भई वडा नं. २ लोकतान्त्रिक चोकमा पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।





